काठमाडौँ । संसद्का ४ विपक्षी दलले पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रतिशोधपूर्ण तरिकाले विशेष अदालतमा मुद्दा दर्ता भएको निष्कर्ष निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीको शुक्रबार संसद् भवनमा बसेको बैठकले नेपालमाथि प्रतिशोध साँधेर षड्यन्त्रमूलक रूपमा मुद्दा लगाइएको निष्कर्ष निकालेको हो ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि बिहीबार पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अनुसन्धान गर्दै उनीमाथि लगाएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविनको माग गर्दै १३ जेठदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध छ । बिहीबार पनि बैठक बस्न सकेन । बैठकको अवरोध हटाउने सम्बन्धमा विपक्षी दलहरू पटकपटक छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भमा बसेको विपक्षी दलहरूको बैठकमा अध्यक्ष नेपालमाथिको मुद्दाको विषयले प्रवेश पाएको हो । बैठकमा बोल्दै नेताहरूले अख्तियारले आफ्नो क्षेत्राधिकार नाघेर सरकारको निर्देशनमा मुद्दा दायर गरेको बताएका छन् । बैठकमा सहभागी नेकपा(एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले प्रतिशोधपूर्ण रूपमा नेपालमाथि मुद्दा चलाइएको भन्नेमा सबै दलहरूको एकमत रहेको बताए । ‘अख्तियारले आफ्नो क्षेत्राधिकार नाघेर नीतिगत निर्णयमा हात हाल्यो । प्रतिशोधपूर्ण पनि हो भन्ने हामी सबैको बुझाइ रह्यो’, सौर्य दैनिकसँग कुरा गर्दै उनले भने ।
बैठकमै सहभागी नेकपा(माओवादी केन्द्र)का सांसद सूर्यमान दोङले पनि अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रह र रिसिइबी साँध्ने उद्देश्यमा केन्द्रित भएर मुद्दा दायर भएको कुरा सबैको बुझाइ रहेको बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतले धारणा राखेका थिए ।
प्रचण्डको ब्रिफिङ, माधवलाई मुद्दा लगाउनमा देउवाको सहमति छैन
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेपालविरुद्ध मुद्दा लगाउनका लागि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति नभएको ब्रिफिङ गरे । अख्तियारले आफ्नो क्षेत्र नाघेर नीतिगत निर्णयमा मुद्दा चलाएको भन्दै प्रचण्ड अख्तियारप्रति असन्तुष्ट सुनिएका थिए । ‘नीतिगत निर्णयमा अख्तियार त्यसरी पस्न थालेपछि विषय जटिल बन्दै जान्छ । सबै खालका खतराहरू उत्पन्न हुन्छन् । रिसिइबी साँँध्दै गएपछि कोही पनि बच्दैनन् । त्यसतर्फ सचेत हुनुपर्ने अवस्था आएको छ’, उनको भनाइ थियो । सो कुरा उनले बैठकपछि सञ्चारकर्मीका माझ पनि बताए ।
‘प्रधानमन्त्रीजी (ओली) को अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले नै नीतिगत निर्णय क्षेत्राधिकार भित्र पर्दैन भनेको थियो । अहिले प्रवेश ग¥यो’, उनले भने, ‘माधवजीले गरेको निर्णय जे गरेको भए पनि नीतिगत नै हो । यसो हो भने कोही पनि छानविनको दायरामा आउन सक्ने भयो । तर यो नीतिगत र सैद्धान्तिक रूपमा ठिक हो कि होइन भन्ने बहस गर्नु जरुरी छ ।’
प्रचण्डलाई फोन गरेर देउवाले भने, ‘माधवजीको मुद्दा के भएको हो ?’
अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै माधव नेपालमाथि अख्तियारले मुद्दा दर्ता गरेपछि आफूलाई शेरबहादुर देउवाले फोन गरेर चासो राखेको बताएका छन् । बिहीबार उनलाई फोन गरेर मुद्दाको विषयमा के भएको हो भनेर सोधेको बताए । ‘उहाँले मलाई के भएको हो भनेर सोध्नुभयो । सत्तापक्षको सबैभन्दा ठुलो नेताले के भएको हो भनेर सोधेपछि म आश्चर्यमा परेँ ।’ उनले भने, मैले पो तपाईंलाई सोध्नुपर्ने हो, तपाईंले सोध्नुभयो भनेर सोधेँ ।’ प्रचण्डले देउवा नढाँटी सिधा सिधा भन्ने मान्छे भएको भन्दै यो कुरा पनि नढाँटेकोमा विश्वास व्यक्त गरे ।
प्रतिक्रिया