पतञ्जली प्रकरणमा माधव नेपालले भने– मैले एक पैसा खाएको छैन, अदालतले न्याय दिनेमा विश्वास छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पतञ्जली प्रकरणमा कुनै गल्ती नगरेको बताएका छन् । अध्यक्ष नेपालले यस पतञ्जली प्रकरणमा एक पैसा पनि नखाएको उल्लेख गर्दै आफूलाई अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।

आज शनिबार मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ, मलाई विश्वास छ, न्याय पालिकाले न्याय दिनेछ, न्यायको जित हुनेछ, अन्यायको हार हुनेछ ।’

उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको बताउँदै त्यस्तो गलत आरोपको डटेर सामना गर्ने बताए । अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उनले डराउनु पर्ने आवश्यक नभएको बताए ।

‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो, हामी भाग्ने होइन’, उनले अघि भने, ‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसहित लाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएकै दिन उनी गृह जिल्ला रौतहटमा थिए । तर, आफूमाथि अख्तियारले मुद्दा दायर गरेको जानकारी पाएपछि सोही दिन काठमाडौं फर्किएका थिए । सोही दिन अध्यक्ष नेपालले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा दायर गरेको दाबी गरेका थिए ।

भ्रष्टाचारको मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद पद पनि निलम्बनमा परेको छ । नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको हो भने मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि पहिलो पटक हो ।

प्रतिक्रिया