काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–५ स्थित अरनिको राजमार्ग खण्डमा बालुवा लोड गरेर बनेपातर्फ आउँदै गरेको टिपरमा रातको समयमा एक्कासी आगलागी भएको छ ।
टिपरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको र मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । बुधबार राति पाँचखालबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ क ६१२५ नम्बरको बालुवा लोड गरेको टिपरमा एक्कासी आगो लागेको प्रहरुको भनाइ छ ।
उक्त टिपर दोलखाको कालिञ्चोक गाउँपालिका–७ निवासी २७ वर्षीय नवराज सिवाकोटीले चलाइरहेका थिए । चालक सिवाकोटीले टिपरको ‘रेस’ एक्कासी अत्यधिक बढेपछि आफूले गाडी रोक्दै पम्पको तार र फ्युज निकाल्ने प्रयास गरेको बताए ।
तर सोही क्रममा टिपरको इञ्जिनबाट एक्कासी आगोको झिल्का उठेपछि आगलागी भएको उनले बताए । घटनापछि तत्कालै नेपाल प्रहरी, पाँचखाल नगरपालिका प्रहरी, र नगरको दमकल टोली घटनास्थलमा खटिएर एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको हो ।
मानवीय क्षति नभए पनि टिपरको इञ्जिन कक्ष र अगाडिको भागमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटना रातको समयमा भएकाले अन्य सवारी र यात्रुहरूमा तत्काल असर नपरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया