दूधको भुक्तानी समयमै नपाएको गुनासो

विश्व दुग्ध दिवस

हेटौँडा । विश्व दुग्ध दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् । कार्यक्रममा दुग्ध क्षेत्रमा विद्यमान समस्या, समाधानका उपाय र भविष्यको बाटोबारे गहिरो छलफल भएको हो । कार्यक्रममा बाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध दिवसको महत्वमाथि प्रकाश पार्दै यो दिवस किसानको जीवनस्तर उकास्न, पोषणको पहुँच विस्तार गर्न र अर्थतन्त्र सबल बनाउन योगदान दिने बताए ।

उनले एफएओको तथ्यांक उद्धृत गर्दै विश्वभर ६ अर्बभन्दा बढी जनसंख्याले दुग्ध परिकार सेवन गरिरहेको र १ अर्ब मानिस यसै क्षेत्रमा आश्रित रहेको जानकारी दिए । नेपालमा भने बहुराष्ट्रिय कम्पनीहरूको प्रभावले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने खतरा बढ्दै गएको भन्दै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे ।

जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष हरि कँडेलले कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै किसानहरू लामो समयदेखि दूधको भुक्तानी पाउन नसकेको पीडा सुनाए । किसानले उत्पादन गरेको दूधको मूल्य समयमा नपाउँदा उनीहरूको दैनिकी प्रभावित भएको उल्लेख गर्दै उनले राज्य र सरोकारवाला निकायले गम्भीर पहल गर्नुपर्ने माग गरे ।

नेपाल डेरी साइन्स एसोसिएसन बाग्मती प्रदेशका संयोजक निरञ्जन कोइरालाले दुग्ध क्षेत्रमा वैज्ञानिक प्रणाली र प्रविधिको प्रयोग आवश्यक रहेको बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानको भुक्तानीमा देखिएको समस्या विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीको असर भएको बताए । उनले केही डेरी उद्योगहरूले बाध्यतावश भुक्तानी दिन नसकेको तर्क गरे भने केहीले जानाजानी बेवास्ता गरेको स्वीकार गरे ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानले बेचेको दूधको पैसा अझै पाउन नसक्नु दुःखद् भएको बताए । उनले सरकारसँग अपिल गर्दै कुन कुन उद्योगले कति भुक्तानी गर्न बाँकी राखेका छन् भन्ने विवरण सार्वजनिक गरिनुपर्ने माग गरे । केन्द्रीय पशुपक्षी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डिडिसी जस्तो सरकारी निकायबाटै किसानको भुक्तानी रोकिएको अवस्थामा सरकारको भूमिकामाथि प्रश्न उठाए । उनले किसानको पाटोलाई केन्द्रमा राखेर दुग्ध नीतिहरू बनाउन आग्रह गरे ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले पनि दुग्ध दिवसको अवसरमा मन्तव्य दिँदै, धानपछिको सबैभन्दा ठूलो योगदान दिने कृषि उपज दूध भएको उल्लेख गरे । दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले संस्थानले भुक्तानी गर्न नसकेको अवस्था स्वीकार गरे । उनले मौज्दात उत्पादन निर्यातको विकल्पको रूपमा प्रयोग गरेर किसानलाई राहत दिन सकिने सम्भावना औँल्याए ।

पशु सेवा विभागका महानिर्देशक रमानन्द तिवारीले दूधको सेवनले मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान दिने बताए । उनले कोल्ड ड्रिक्सको सट्टामा मोही, दूधजस्ता स्वास्थ्यवर्धक वस्तुहरूको प्रवद्र्धन हुनु सकारात्मक भएको बताए । बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले दुग्ध क्षेत्रलाई व्यवस्थित गर्न मन्त्रालयको सक्रिय भूमिका रहने बताए । उनले दुग्ध क्षेत्रमा गुणस्तर परीक्षण र नियमनमा पछि परिएको स्वीकार गर्दै अब त्यसमा सरकार गम्भीर हुँदै गएको बताए ।

दूधको पैसा तिर्न नसक्दा दुःख लागेको छ : मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दूधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका छन् । मन्त्री अधिकारीले किसानका समस्या समाधानका लागि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताएका हुन् ।

उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) मार्फत मात्र झण्डै १ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भने समग्र रूपमा किसानलाई ३ देखि ४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । मन्त्री अधिकारीले आफू मन्त्री बनेपछि किसानका पक्षमा के गर्न सकिन्छ भन्ने सोच लिए पनि अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख गरेको कुराहरूबाहेक केही गर्न नपाएको गुनासो गरे । उनले किसानलाई १५ दिनभित्र दूधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको स्वीकार गरे ।

प्रतिक्रिया