काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्ला खोप समितिद्वारा पनौतीलाई पूर्णखोप सुनिश्चित घोषणा गरेको छ । नगरपालिकाका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएपछि एक कार्यक्रम गरी पूर्णखोप सुनिश्चित घोषणा गरिएको थियो ।
कार्यक्रममा पनौतीका १२ वटै वडाले समेत पूर्णखोप सुनिश्चितता गरेको हुँदा सम्पूर्ण वडालाई पूर्णखोप सुनिश्चितता घोषण प्रमाणित गरी सबै स्वास्थ्य संस्थालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
माघ, फागुनमा खोप समितिको बैठक बसी स्वास्थ्यकर्मीहरुले घरधुरी सर्वेक्षण गरी अनुसुचि ५ र ६ भरेर संस्थालाई बुझाएपछि समितिले बसेर डाटा भेरिफिकेशन गरेपश्चात आफ्नो वडामा रहेका बालबालिकाहरुले पूर्णखोप पाएका छन् भने कोही छुटेका छैनन् भन्ने प्रमाणित भए पश्चात मात्र पूर्णखोप सुनिश्चितताको प्रक्रियामा अघि बढ्छ ।
यसै प्रक्रियालाई पूरा गरेपश्चात पनौती नगरपालिकालाई जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला खोप समितिले भेरिफिकेशन गरेर मात्र पूर्ण खोप सुनिश्चितताको घोषणासहित प्रमाणपत्र वितरण गरेको हो । यी सम्पूर्ण प्रकृया तथा नगरको खोपको अवस्थका बारेमा स्वास्थ्य शाखा प्रमुख जनक केसिले विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले पनौती नगरपालिकाले बालबालिकाहरुको समग्र विकासको लागि धेरै काम गरेको बताए । उनले बालबालिकामा लगानी गर्दा समृद्धि प्राप्ति हुनेमा जोड दिए । नगर उपप्रमुख गीता बञ्जाराले पूर्णखोप सुनिश्चिततासँगै चाँडै नै बालबालिकामैत्री तथा पोषणमैत्री स्वास्थ्य संस्थाका लागि पहल गरिनेसमेत बताइन् ।
नगरप्रमुख रामशरण भण्डारीले यस वर्ष पनौती नगरपालिकामा आइपरेको विपदको विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरुले आफ्नो तर्फबाट जिम्मेवारी पूरा गरेको र खोपमा सफलता हासिल गरेकोमा नगरपालिका गौरवान्वित भएको बताए । साथै, बालबालिकामा लगानी सुनौलो भविष्यको बाटो हो भन्ने विषयमा जोड दिँदै आगामी दिनहरुमा पनि पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सबै तह र तप्काबाट लागिपर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा उपस्थित नगरप्रमुख, उपप्रमुख, जिसस प्रमुख, १२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यकर्मीले समेत पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । पनौती नगरपालिका स्वास्थ्य शाखाका अनुसार यसै वर्ष किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणाको प्रकृया पनि अघि बढेको जानकारी गराइयो ।
प्रतिक्रिया