अबका ४ वर्ष तापक्रम वृद्धि यथावत

सन् २०२५–२०२९ औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ

काठमाडौँ । संयुक्त राष्ट्रसंघले सन् २०२५ देखि सन् २०२९ सम्म विश्वको औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको चेतावनीयुक्त सन्देश दिएको छ ।
राष्ट्र संघीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले प्रकाशित गरेको वार्षिक जलवायु रिपोर्ट अनुसार सन् २०२३ र २०२४ मा रेकर्ड गरिएका २ सबैभन्दा ताता वर्षपछि पृथ्वीको तापक्रम अरू ४ वर्षसम्म यही स्तरमा रहने अपेक्षा गरिएको छ ।

‘हामीले भर्खरै रेकर्डमा १० सबैभन्दा ताता वर्षहरू अनुभव गरेका छौँ’, उक्त रिपोर्टमा डब्लुएमओका उपमहासचिव को ब्यारेटले भनेका छन्, ‘दुर्भाग्यवश, यो डब्लुएमओ रिपोर्टले आगामी वर्षहरूमा राहतको कुनै संकेत प्रदान गर्दैन र यसको अर्थ हाम्रो अर्थव्यवस्था, हाम्रो दैनिक जीवन, हाम्रो परिस्थितिकीय प्रणाली (इकोसिस्टम) र हाम्रो ग्रहमा बढ्दो नकारात्मक प्रभाव पर्नेछ ।’

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।
मानवताले औद्योगिक रूपमा कोइला, तेल र ग्यास जलाउन सुरु गर्नुअघि सन् १८५०–१९०० को औसतको तुलनामा लक्ष्यहरू गणना गरिएको छ । कोइला, तेल र ग्यासले कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्दछ । हरितगृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार छ ।

अधिक आशावादी १ दशमलव ५ डिग्री सेल्सियस लक्ष्य त्यो हो, तर जलवायु वैज्ञानिकहरूको बढ्दो संख्याले त्यो लक्ष्य अब प्राप्त गर्न असम्भव ठान्छ, किनकि कार्बन उत्सर्जन अझै बढिरहेको छ ।

डब्लुएमओको पछिल्ला अनुमानहरू धेरै विश्वव्यापी केन्द्रहरूको पूर्वानुमानको आधारमा बेलायतको मौसम विज्ञान कार्यालयको राष्ट्रिय मौसम विज्ञान सेवाले संकलन गरेको हो । एजेन्सीले सन् २०२५ र २०२९ को बीचमा प्रत्येक वर्षका लागि विश्वव्यापी औसत सतहको तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १ दशमलव २ डिग्री सेल्सियस र १ दशमलव ९ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरेको छ ।

एजेन्सीले सन् २०२५–२०२९ अवधिमा औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । ‘यो सन् २०२० को दशकको अन्त्य वा सन् २०३० को दशकको सुरुमा दीर्घकालीन आधारमा १ दशमलव ५ डिग्री सेल्सियस पार गर्ने हाम्रो अनुमानसँग मेल खान्छ’, मेनाथ विश्वविद्यालयमा आइरिश जलवायु विश्लेषण र अनुसन्धान एकाइ समूहका निर्देशक पिटर थोर्नले भन्छन्, ‘२ देखि ३ वर्षमा यो सम्भावना सतप्रतिशत हुन मेरो अनुमान छ ।’

डब्लुएमओका अनुसार सन् २०२५ देखि २०२९ सम्मको कम्तीमा १ वर्ष रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष (सन् २०२४) भन्दा बढी हुने सम्भावना ८० प्रतिशत छ । प्राकृतिक जलवायु परिवर्तनलाई सहज बनाउन धेरै विधिहरूले दीर्घकालीन तापक्रमको मूल्यांकन गर्ने डब्लुएमओका जलवायु सेवा निर्देशक क्रिस्टोफर हेविटले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया