चाख्ने होइन त सिन्धुलीको खुवा ?

सिन्धुली । विपी राजमार्ग हुँदै तराइ जाने र पहाड उक्लिने जुनै पनि गाडीले एकछिनको लागि मात्रै भए पनि रोकिने ठाउँ हो सिन्धुलीको खनियाँखर्क । जुनार र सुन्तला विक्रिको लागि निकै प्रख्यात रहेको खनियाँखर्कको पसलहरुको लहरहरुमा छ खुवा वा कुराउनी पसल ।

खनियाँखर्क वरिपरि रहेका गाउँबाट संकलन गरिएको दुधबाट विकास देवकोटाले चलाएको सिन्धुली खुवा उद्धयोगले यो बाटो हुँदै जाने जो कोहीको पनि ध्यान तान्छ । झण्डै २ दशकदेखि खुवा व्यवसाय गरिरहेका विकास देवकोटाले यो उद्धयोगमा अहिले ३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छन् ।

दैनिक रुपमा झण्डै १० किलो जति खुवा विक्री हुने गरेको छ । बाटो पर्दा यात्रुहरु ओर्लिएर यहाँ खुवा किनेर लैजानुहुन्छ । कहिलेकांही त माग धान्न पनि गाह्रो हुन्छ ।

ग्राहकहरुको रोजाइ अनुसार उनको यस उद्धयोगले तातो र सेलाएको खुवा दिने गरेको छ । तत्कालै खानको लागि उनी आफ्ना ग्राहकहरुलाई तातो खुवा दिन्छन् भने अन्यत्रै लैजानको लागि सेलाएको दिने गरेको उनले बताए ।

‘एक किलो खुवा बनाउनको लागि ६ लिटर दूध चाहिन्छ, दैनिक कम्तीमा पनि ६० लिटर दुध खपत हुने गरेको छ, दुध चैँ हामी यहींका किसानबाट बिहान र बेलुकी गरेर संकलन गर्छौँ’, उनले भने ।

प्रतिक्रिया