वन्डरल्यान्ड वाटर पार्कमा तोडफोड, अनियन्त्रित भिड र बाह्य समूहका कारण क्षति

जनकपुरधाम । २ महिना पहिले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा सञ्चालनमा आएको जानकी फनपार्क एन्ड रिसोर्ट प्रालिद्वारा सञ्चालित वन्डरल्यान्ड वाटर पार्कमा शनिबार तोडफोड गरिएको छ । गर्मी बढेसँगै सीमावर्ती भारत र मधेसका ८ वटै जिल्लाबाट आउने व्यक्तिका कारण भरिभराउ हुने वाटर पार्कमा टिकट सस्तो गरी विद्यार्थीलाई प्रवेश गराएपछि अनियन्त्रित भिडले पार्कमा क्षति पु¥याएको हो ।

हप्तौँदेखि प्रचारप्रसार गरी कृष्णा फाउन्डेसनले कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीका लागि वाटर पार्कमा आयोजना गरेको ‘ग्रान्ड फेयरवेल सेलेब्रेसन’ कार्यक्रममा भिड नियन्त्रणबाहिर जाँदा तनावग्रस्त बनेको थियो । शनिबार अनियन्त्रित भिड र केही व्यक्तिका कारण पार्कमा तोडफोडसमेत भएको छ भने सडकमा रोपिएका विरुवा उखेलेर फ्याक्नेजस्ता अभद्र कार्यसमेत भएको छ ।

कृष्णा फाउन्डेसनले कक्षा १२ का विद्यार्थीहरूका लागि सो कार्यक्रमको आयोजना गरेको थियो । अत्यधिक संख्यामा रहेका विद्यार्थीहरूले पार्कमा प्रवेश गर्दा भिड अनिन्त्रित बनेको थियो । पार्कका प्रबन्ध निर्देशक गुड्डु जैनले सो घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘यस घटनाबाट उत्पन्न भएको तनाव र पार्कमा भएको तोडफोडले हामीलाई मर्माहत बनाएको छ । हामी सम्पूर्ण जनसमुदायसँग माफी चाहान्छौँ र यस घटनाका दोषीहरूमाथि कारबाही गर्न प्रशासनसँग अनुरोध गर्छौं ।’

फाउन्डेसनले प्रत्येक विद्यार्थीका लागि १०० रुपैयाँको क्युआर कोडमार्फत टिकट बुझेको थियो र प्रबन्धनका लागि ९ बजेदेखि १०ः३० बजेसम्मको समयसीमा तोकिएको थियो । आयोजकले विद्यार्थीको परिचयपत्र र रसिद जाँच गरी पार्कमा प्रवेशको व्यवस्था मिलाएका थियो । यद्यपि बढी संख्यामा विद्यार्थी आएपछि पार्कको प्रवेश द्वारमा भिड अनियन्त्रित भएको थियो । जैनले भने, ‘हामीले तोकिएको समयमा मात्र विद्यार्थीलाई प्रवेश दिन चाहेका थियौँ । तर, विद्यार्थीको संख्या अनुमानभन्दा बढी भएपछि स्थिति जटिल बन्यो । हामीले तत्कालै पार्कका सुरक्षा गार्डलाई सक्रिय गरायौँ र पछि नेपाल प्रहरीलाई बोलाएर नियन्त्रण गर्ने प्रयास गरेका थियौँ ।’

उनले भने, ‘हामीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीका लागि प्रशासनसँग माग गरेका छौँ । हामी जिम्मेवार पक्षको पहिचान गरी आवश्यक कदम चाल्न तयार छौँ ।’ पार्कको मर्मत, सफाइ र पानी सफा गरिएको छ । आइतबारदेखि नै पार्कको सम्पूर्ण सेवा सुचारु भएको जनाइएको छ ।
कृष्णा फाउन्डेसनले पनि वाटरपार्कमा शनिबार आयोजना गरिएको फेयरवेल कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै जिम्मेवार व्यक्तिहरूमाथि छानबिन र कडा कारबाहीको माग गरेको छ ।

फाउन्डेसनका अनुसार कार्यक्रम अनुशासित रूपमा सञ्चालन भइरहेको थियो । तर, आयोजकको पूर्वस्वीकृतिविना केही समूहले जबर्जस्ती प्रवेश गर्न खोजेपछि वातावरण तनावपूर्ण बन्दै गयो । त्यही क्रममा केही व्यक्तिले कार्यक्रम स्थलमा अराजकता सिर्जना गरे । फाउन्डेसनले घटनाको कारक आयोजक नभई बाह्य व्यक्तिको गैरजिम्मेवार क्रियाकलाप रहेको जनाएको छ । घटनाप्रति खेद व्यक्त गर्दै फाउन्डेसनले सम्पूर्ण सहभागी विद्यार्थीहरूको प्रवेश शुल्क पूर्ण रूपमा फिर्ता गर्ने निर्णय गरेको छ । अभिभावक तथा विद्यार्थीप्रति संस्थाको जवाफदेहिता रहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको फाउन्डेसनका उपाध्यक्ष सुजित कर्णले जनाए ।

वाटरपार्ककोे घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघले विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । ‘शनिबार घटित घटनालाई ‘निन्दनीय, दण्डनीय र विकास विरोधी’ भन्दै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेका थिए । संघले सो तोडफोडलाई जनकपुरधाममा निजी क्षेत्रको लगानीमाथिको खुला आक्रमणको रूपमा चित्रण गरेको छ ।

करिब ३ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको वन्डरल्यान्ड वाटरपार्क मधेस प्रदेशकै सबैभन्दा ठूलो र आकर्षक मनोरञ्जनस्थलको प्रचार गर्ने उद्देश्यले भएको घटना राजधानी जनकपुरधामको पर्यटन विकास र आर्थिक समृद्धिमाथिको कुठाराघात भएको संघको भनाइ छ ।

प्रतिक्रिया