काभ्रेपलाञ्चालेक । जिल्लाका धुलिखेल नगरपालिका–७ स्थित सञ्जीवनी चोकमा शनिबार बिहान करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय युवक उपेश नेपाली (परियार) को ज्यान गएको घटनाले स्थानीयदेखि संसद्सम्मको ध्यान तानेको छ । गम्भीर लापरबाहीका कारण भएको दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । मृतक उपेश नेपाली ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनको पोलमा काम गरिरहेकै बेला करेन्ट लागेर पोलमै जलेर मृत्यु भएका थिए । घटनालगत्तै प्रहरी टोलीले उनलाई उद्धार गरी धुलिखेल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको थियो ।
दोषीमाथि अनुसन्धान होस्
काभ्रे क्षेत्र नं. १ का सांसद सूर्यमान दोङले आइतबार प्रतिनिधि सभामा आवाज उठाउँदै घटनामा देखिएको लापरबाहीप्रति आक्रोश जनाएका थिए । उनले विद्युत् प्राधिकरण वा ठेकेदार जो कोहीको लापरबाही होस्, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।
मृतकको परिवारलाई १० लाख राहत दिने सहमति
घटनापछि आइतबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा नेपाल विद्युत प्राधिकरण, ठेकेदार पक्ष र मृतकका परिवारबीच लिखित सहमति भएको छ । सहमतिअनुसार १० लाख रुपैयाँ राहत मृतकका छोरा, छोरी र पत्नीको संयुक्त नाममा बैंक खाता खोलेर ७ दिनभित्र ठेकेदार कम्पनी ‘सुदिपा निर्माण सेवा’ का प्रोप्राइटर दीपकप्रसाद धितालले १० लाख रुपैयाँ उपलब्ध गराउने । रोजगारीको व्यवस्था, मृतक पत्नी रस्मिला परियारलाई योग्यताअनुसार सेवा करारमा रोजगारी दिने व्यवस्था गर्न प्राधिकरण सहमत, बिमा क्षतिपूर्ति : प्राधिकरणले आन्तरिक विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार न्यूनतम ५ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति दिने सहमति भएको छ ।
दोषी को ?
नेपाल विद्युत् प्राधिकरण धुलिखेल वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले घटनाको मुख्य कारण ठेकेदार कम्पनीको लापरबाही भएको बताएका छन् । उनका अनुसार, पुरानो पोलसम्म लाइन तानेर जम्पर नलगाई खुलै छाडिएको थियो, जसका कारण लिकेज भएको करेन्ट पोलमा चढ्नेबित्तिकै मृतकलाई समातेको थियो ।
‘हामी लाइन सेटडाउन गर्ने तयारीमै थियौँ, हाम्रो प्राविधिक पठाउनेबित्तिकै घटना भयो’, अधिकारीले भने, ‘तर ठेकेदारले सुरक्षा सावधानी नअपनाई काम गराएका कारण यस्तो दुःखद् घटना भयो ।’
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश कुँवरको कमान्डमा फरेन्सिक टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानले पनि लापरबाहीका कारण करेन्ट लिकेज भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।
विद्युत् पोलमा सामान्य सुरक्षा व्यवस्थाविना मानिस चढाइने परिपाटीले फेरि एक युवकले ज्यान गुमाउनुपरेको बताइएको छ । मृत्युपछि मात्र सम्झिने राहतको भाषाभन्दा, प्राधिकरण र निर्माण कम्पनीहरू अब सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न बाध्य हुने वातावरण बनाउन जरुरी भएको सहमति गराउन सहभागी धुलिखेल–८ का वडा अध्यक्ष विनोद गौतम बताउँछन् । काभ्रेमा यसअघि पनि बेथानचोक, कुशादेवीलगायत ठाउँमा करेन्ट प्रवाहका कारण मानिसको ज्यान गएको थियो ।
प्रतिक्रिया