कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दर्ता, ३७ लाख बिगो दाबी

सहकारी ठगी प्रकरण

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध काठमाडौँस्थित कालिमाटीको स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी गरेको अभियोग छ । सहकारीको तत्कालीन कार्यसमिति सदस्य तथा सचिव हुँदा रकम अपचलन गरेको आरोप उनीमाथि लगाइएको छ ।

सांसद राईविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । उनी कार्यसमिति सदस्य र सचिव रहेको अवधिमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भई ठगी भएको देखिएको छ । राईविरुद्ध भने ३७ लाख ३५ हजार रुपैयाँ मात्रै बिगो मागदाबी गरिएको छ ।

यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा विभिन्न व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको भए पनि उनलाई उन्मुक्ति दिइएको थियो । तर, गत वैशाख १३ गते उनलाई पक्राउ गरेर पूरक अभियोजनमार्फत् मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया