काठमाडौँ । चलचित्र ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा गुरुङलाई दर्शकले ठुलो पर्दामा फेरि देख्न पाउने भएका छन् । यी २ मुख्य भूमिकामा रहेको चलचित्र ‘रिमै’ २७ भदौबाट प्रदर्शनमा आउने भएको छ ।
खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रको ३ पोस्टर सोमबार सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।
सार्वजनिक एक पोस्टरमा दयाहाङ र रिश्मालाई प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्रमा उनीहरू दुई प्रेम सम्बन्धमा रहेको संकेत गर्छ ।
अर्को पोस्टरमा दयाहाङ र रिश्मासहित नायिका गौमाया गुरुङलाई पनि राखिएको छ । अर्को पोस्टरमा चलचित्रमा सबै मुख्य पात्रलाई स्थान दिइएको छ । यस पोस्टरको केन्द्र भागमा दयाहाङ छन् ।
अमेरिका बस्दै आएकी रिश्माले लामो समयपछि चलचित्र गरेकी हुन् । २०७७ सालमा उनी चलचित्र ‘क्रसरोड’को छायांकनमा सहभागी भएकी थिइन् । त्यो चलचित्र अझैँ प्रदर्शनमा आएको छैन । ‘रिमै’को लेखक उपेन्द्र सुब्बा हुन् । यसको निर्माताहरू टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले हुन् ।
प्रतिक्रिया