कर्मकाण्डी मात्र नबनोस् सगरमाथा संवाद

जेठ २, ३ र ४ गते नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा जलवायु र वातावरणको क्षेत्रमा सरोकार राख्नेहरूबीच निकै चर्चा र चासो छ । तर, यो कसरी हुन्छ र यसबाट नेपालको हितमा के कति काम होला भन्ने पनि छ । यो विश्वस्तरीय सम्मेलन ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दामा नेपालको अहिलेसम्मकै ठूलो आयोजना हो । सगरमाथा संवादमा हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन नेपालले विभिन्न विषय उठाउने बताइएको छ । विश्व समुदायसामु नेपालले उठाउने विषयले महत्व राख्नुपर्छ र त्यसले दीर्घकालीन रूपमा नेपालको हित गर्नुपर्छ ।

कार्बन उत्सर्जन र विश्व तापमान वृद्धिबाट बढी प्रभावित भएका कारण नेपालले पाउनुपर्ने न्यायको विषयमा यो सम्मेलनमा जोडदार कुरा उठाइनु पर्छ । यस विषयमा यसअघि पनि छलफल हुने गरेको छ । अहिले भने छलफल निष्कर्षमा पुग्ने गरी हुनुपर्छ । हिमालमा उत्पन्न भएको खतराका कारण बस्ती, सडकलगायतमा कति जोखिम छ भनेर विशेष छलफल गरिनु आवश्यक छ । विश्वका धेरै नेता सहभागी हुने कार्यक्रम भएकाले जलवायु परिवर्तन, हिमाल र मानव भविष्यका विषयमा केन्द्रित रहेर संवाद हुँदा विश्वका नीति निर्माता र वातावरणविद्हरूका बीच यसले स्थान पाउनु सक्छ ।

यस्ता चर्चा पहिला पनि हुन्थे, अन्तर्राष्ट्रिय स्तरका बैठक सेमिनार हुने गरेका पनि छन् । तर, त्यसबाट के कति उपलब्धि भए भनेर पनि हेरिनुपर्छ । अहिले हुँदै गरेको सगरमाथा संवादको सन्देश भनेको जलवायु परिवर्तन र जलवायु न्यायका विषयमा विश्वव्यापी रूपमा जानकारी दिने उद्देश्य हो । यो संवादले नेपालमा परेको असरका बारेमा जानकारी दिनेछ भन्ने लाग्छ । हुन त पहिला पनि नेपालमा यस प्रकारका कार्यक्रमहरू भएका हुन् । उदाहरणका लागि ‘कालापत्थर बैठक’ लाई लिन सकिन्छ । त्यसको उद्देश्य पनि सेता हिमाल पग्लेर काला हुँदै गएको र त्यसले सिंगो पृथ्वीलाई नै पार्न सक्ने असर थियो । अहिले पनि मुद्दा त्यही हो, त्यसैमा केन्द्रित हुनपर्छ ।

यसमा हामीले बुझनुपर्ने कुरा के हो भने, यो विषय नेपाललाई ‘नखाएको विष लाग्यो’ भनेझैँ भएको छ । नेपालले कार्बन ग्याँस खासै उत्पादन गर्दैन । तर, त्यसको अर्थात् आफ्नो देशले नगरेको ‘अपराध’को सजाय नेपालले भोग्नुपरेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण सिर्जित वैश्विक तापमान वृद्धिले हिमालमा हिउँ पग्लने दर बढेको छ । अरूले व्यवसाय गर्ने, लाभ लिने तर, हामीले हामीसँग भएको सम्पदा गुमाउँदै जाने अवस्था छ । नेपालले गुमाउनुपरेको सम्पदाका कारण फेरि नेपालले मात्रै होइन, अरूले पनि त्यसको असर भोग्नुपर्ने अवस्था छ । त्यसैले यो चासो हाम्रो मात्रै होइन, यसमा सबैले हातेमालो गर्नुपर्छ भन्ने कुरा यो संवादमा उठ्नु पर्छ ।

अहिले जुन प्रकारले हिमाल पग्लन सहयोग पुर्याउने ग्याँस विकसित राष्ट्रले उत्पादन गरिरहेका छन् । त्यही ग्याँस हावामा बहँदै आएर हाम्रा हिमाल पगाल्दै छ । विकसित देशमा उत्पादन भएका ग्याँसले नेपालका हिमालय पग्लने, हाम्रा बनस्पतीमा असर पार्ने र सिंगो इकोसिस्टममा नै परिवर्तन भइरहेको छ । यसले अन्य क्षेत्रमा पनि असर पार्छ । यसका बारेमा विश्वका समुदायका साथै नेपाली नागरिकलाई समेत जानकारी हुन आवश्यक छ । संवादमा को को सहभागी हुन्छन् सरोकार उनीहरूको मात्रै होइन । जे विषयमा कार्यक्रम हुँदै छ, त्यसले असर पार्ने समुदायले पनि त्यसका बारेमा जानकारी पाउन सक्ने बनाउन पर्छ ।

त्यसैले सगरमाथा संवादले विश्वलाई यसका बारेमा जानकारी गराउने हो । नेपालले यसबाट भोगेको असर र क्षतिका बारेमा जानकारी गराउँदै नेपालको हितमा सहयोग जुटाउनेतर्फ पनि यो संवाद केन्द्रित हुनपर्छ । त्यसमा सरकारले पहल गर्नुपर्छ र गर्ला भन्ने लाग्छ । किनकी नेपाल यी सबै कुरामा असर पुर्याउने ठाउँमा छैन । हामी अन्य मुलुकका कारण हाम्रा हिमसम्पदा गुमाउँदै छाँै । त्यसलाई बचाउने र त्यसका लागि के गरिनु पर्छ भन्ने कुरामा सचेत गराउन पनि यो कार्यक्रम फलदायी हुनपर्छ ।

यो संवादमा नेपालले वातावरणीय असरका कारण व्यहोरेको क्षतिका बारेमा प्रमाणसहित नेपाल पेस हुनपर्छ । हामीजस्ता देशले विकसित राष्ट्रको औद्योगीकरणका कारण यति क्षति व्यहोरेका छौँ । त्यसको क्षतिपूर्ति पाउनु पर्छ भन्न सक्नुपर्छ । हामी अब अरूका गल्तीका कारण काला हिमाल हरेर बस्ने मात्रै होइन, यहि फोरममा न्यायको आवाज पनि उठाइनु पर्छ । त्यसमा पेस हुन पहिला नेपालले राम्रो तयारी गरोस् ताकि विश्वका सामु हाम्रा कारणबाट नेपालले क्षति व्यहोरिरहेको छ भन्ने अनुभूति गराउन सकियोस् ।

अहिले मात्रै होइन, विश्वव्यापी रूपमा वातावरण परिवर्तनका बारेमा पटकपटक छलफल हुने गरेको छ । त्यसमा उठाइने विषय महत्वपूर्ण हुन्छन् नै । अहिले नेपालले जोड दिनुपर्ने भनेको वातावरण बिग्रने गरी भएको औद्योगीकरण र त्यसले पार्ने असरको तहमा नेपालको भूमिका कम छ तर त्यसको असर हामीले धेरै भोगेका छौैँ भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ । अन्तर्राष्ट्रिय विकासले नेपालको जलवायु परिवर्तनमा असर परेको छ भन्ने कुरा प्राथमिकतामा पर्नुपर्छ । जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय पनि उत्तिकै महत्वको छ ।

यसमा हामीले बुझाउन पर्ने विषय भनेको कृषि उत्पादनका बारेमा सचेत गराउनु पर्छ । कृषि उत्पादनले पनि जलवायु परिवर्तनमा असर पार्छ । पछिल्ला कृषि उत्पादन जलवायु परिवतर्नमा असर पर्ने प्रकारका हुँदै गएका छन् । त्यस बारेमा विश्वले जान्नु पर्छ उनीहरूले थाहा पाउनु पर्छ । किनकी कृषि उत्पादन हरेक देशमा हुन्छ र हुनै पनि पर्छ । तर पछिल्ला दिनमा यसमा विषादी प्रयोग जस्ता कुराले वातावरणमा असर परेको छ । यसमा भएका र हुन सक्ने विकल्पका बारेमा किसानलाई चेतना दिलाउन आवश्यक छ ।

नेपालमा हुने यो संवाद धेरै हिसाबले महत्वपूर्ण छ । यसमा हामीले के कति लाभ लिन सक्छौँ भन्ने बारेमा सचेत हुनपर्छ । आर्थिक र प्राविधिक रूपमा नेपालले यो संवादबाट जलवायु परिवर्तनका असरसँग जुध्न सहयोग पाउने वातावरण बनाउछ पर्छ । विधि पक्षका चेतनाका साथै आर्थिक रूपमा नेपालले लाभ पाउनु पर्छ । पग्लेका हिमालमा हिउँ हाल्न सकिन्न तर, यसको क्षति रोक्न सकिन्छ र त्यसबाट हुने असरका बारेमा व्यापक प्रचार हुनपर्छ । विश्वव्यापी रूपमा उत्पन्न हुँदै गएको वातावरणीय असरले विश्वको ध्यान तानेको छ । विकासका नाममा भएका औद्योगीकरणले हाम्रो वातावरण बिग्रँदै गएको छ । र, यसले मानव जीवनलाई असर पार्दै गएको छ ।

नेपाल हिमाली राज्य भएकाले यसको बढी असर तराई, पहाडभन्दा हिमालमा बढी छ । हिमालहरू दिनदिनै पग्लन थालेपछि विभिन्न प्रकारका विपद् आउन सक्छ । अर्कोतर्फ हिउँ पग्लेर पानीका रूपमा बगेपछि हिमालहरू काला हुन्छन् र हिउँ जम्न छोड्छ । त्यसपछि पानीको वहाव कम हुन्छ । जब पानीको वहाव कम हुन्छ त्यसले नेपाललाई त असर पर्छ नै त्यसको साथसाथै नेपालभन्दा मुनिका देशहरू भारत, बंगलादेशलाई समेत असर पर्छ । यसको पहिलो असर पर्ने भनेकोे नेपाललाई नै हो । त्यस बारेमा पनि यो फोरममा जोडले कुरा उठाइनुपर्छ ।

अहिले जसरी जलवायुको परिवर्तनको असर देखिँदै छ । त्यसमा विश्वव्यापीरूपमा भएका औद्योगिकीकरण प्रमुख हो । बढ्दो औद्योगीकरणका कारण हावामा कार्बनडाइअक्साइडलगायत विभिन्न प्रकारका ग्याँस निस्कन्छ । तिनिहरूले बिस्तारै सूर्यको किरणमा जम्मा हुन्छन् र केही भाग माथि रहन्छ केही तल जान्छ । यसले तापक्रम बढदै जान्छ र हिउँहरू पग्लदै जान्छ । यद्यपि यसो हुनुमा नेपालकोभन्दा विकसित राष्ट्रको भूमिका बढी छ । तर त्यसको असर भने हामीले बढी भोगेका छौँ । यसमा सरकारले अन्तर्राष्ट्रिय जगतलाई सचेत गराउने एउटा पाटो हो । अर्को पाटो भनेको त्यसमा हरेक नागरिक सचेत हुन आवश्यक छ । अझ हिमालसँग जोडिएका होटल पर्वतारोहणका कुरामा ध्यान दिनपर्छ । कसका कारण कसरी वातावरण बिग्रँदै छ भनेर सबै सचेत हुनुपर्छ । वातावरण बचाउने दायित्व सबै नागरिकको हो । यसमा सरकारको मात्रै मुख ताकेर हुँदैन । यो ठूलो विषय भएकाले सबैले यसका जिम्मेवारी लिनुपर्छ । शैक्षिक संस्थाहरूले यसमा चासो दिएर विद्यार्थीलाई यसको असरका बारेमा चेतना फैलाउनु पर्छ । विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई त्यसप्रति अभिप्रेरित गर्नुपर्छ । अर्को कुरा विश्वका सामु हामी आफू पनि कमजोर छैनाँै भन्ने कुरामा अनुभूत गराउनु पर्छ ।

यो सगरमाथा संवाद भाषण र सेमिनारमा मात्रै सीमित हुनहुँदैन । यसलाई परम्परागत बनाइनु पनि हुँदैन । विश्वका नेता बेलाइयो भाषण सेमिनार भयो भनेर यसैलाई उपलब्धि ठानेर यसलाई कर्मकाण्डी बनाइनु हुँदैन । यो नेपालका लागि राम्रो अवसर हो यसबाट नेपालको हितमा नेपाल यतिचाहिँ उपलब्धी हासिल गर्यो है भन्ने गरी सम्पन्न हुनपर्छ । वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा देखिएका नकारात्मक कुरालाई यो संवादले चिर्दै अगाडि बढ्नुपर्छ । आउने दिनमा यो संवाद सबैका लागि सधैँ सम्झनलायक बन्नुपर्छ ।

[email protected]

प्रतिक्रिया