पूर्णयुद्धको दिशामा भारत–पाकिस्तान, दुबै देश जबाफी हमलामा

काठमाडौँ । काश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी हमलाको जवाफी हमला भन्दै भारतले गरेको हवाई आक्रमणमा १०० जना मारिएको भारत सरकारले दाबी गरेको छ । ‘अपरेशन सिन्दुर’ नाम दिइएको सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १०० भन्दा धेरै ‘आतंककारी’ मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । पाकिस्तानले पनि विहीबार राति जवाफी हमला गरेको छ ।


बिहीबार राती पाकिस्तानले जबाफी हमाला गर्दै जम्मू क्षेत्र, पठानकोटलगायतका क्षेत्रमा रहेको हवाई अड्डामा ड्रोन हमला गरेको थियो भने हमलाबाट जोगिन भारतले जम्मूसहित, पञ्जाब, राजस्थान, चंडीगढका विभिन्न क्षेत्रमा ‘ब्ल्याक आउट’ गरेको थियो । भारतले पाकिस्तानको हमलालाई निस्तेज पारेको दाबी गरे पनि पाकिस्तानले गरेको ड्रोन हमलाका कारण ती क्षेत्रका विभिन्न स्थानमा विस्फोट भएको बिबिसीले जनाएको छ । पाकिस्तानको जबाफी हमलापछि भारत अझ सशक्त रुपमा प्रस्तुत हुनसक्ने आँकलन गरिएको छ ।

बिहिबार नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा हमलाबारे जानकारी गराउँदै यस विषयमा ब्रिफिङ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी पाकिस्तानले गरेको हमलामा आफ्ना १६ नागरिकको ज्यान गएको पुष्टि भारतले गरेको छ । सर्वदलीय बैठकपछि अधिकांश नेताहरुले देशका सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।

बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका तर्फबाट गरिएको प्रेस व्रिफिङमा भारतले पाकिस्तानसँग तनाव बढाउन चाहेको नभइ पहलगाम आतंकवादी हमलाको जवाफ मात्र दिएको विदेश सचिव बिक्रम मिसरीले बताए । उनले भारतीय आक्रमण पाकिस्तानका सैन्य ठेगानामा लक्षित नरहेको दाबी गर्दै केबल आतंकवादी अखाडामा मात्र लक्षित भएको बताए ।

‘आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा छ’


भारतले पाकिस्तानमाथि हमला गरेको ४० घन्टापछि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारत–पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध र शान्तिको पक्षमा रहेको स्पष्ट पारेको छ ।

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत् नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पार्दै २ देशबीचको द्वन्द्व कम हुने आपेक्षाका साथ स्थिरता र शान्ति स्थापना हुनेमा नेपाल विश्वस्त रहेको उल्लेख गरिएको छ । नेपालले गत २२ अप्रिलमा भारतको पहलगाममा १ नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको स्मरण गर्दै त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता

गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घन्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र १ हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबारसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिए ।

सीमा इलाकाका १ हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी १ हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया