काठमाडौं । राष्ट्रिय संगीत अवार्ड यही वैशाख २९ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सप्पन्न हुने भएको छ । सो अवार्डमा लोक, आधुनिक र अन्य विधा गरि जम्मा २० विधामा आएका आवेदनमध्यबाट उत्कृष्ट टप ५ सार्वजनिक भइसकेको छ ।
उक्त अवार्डमा लामो समयदेखि (५० वर्षभन्दा बढी) नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा सक्रिय रहेर उत्कृष्ट योगदान पुर्याएका वरिष्ठ गीतकार राजेन्द्र थापालाई नगद रु २५ हजारसहित लाइफटाइम अचिभ्मेन्ट सम्मान गर्न लागिएको कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनीले जानकारी दिइन् ।
कास्की खबर प्रालिले आयोजना गरेको तेस्रो राष्ट्रिय संगीत अवार्डको अवसर पारेर विशेष कला पत्रकारितामा २५ वर्षभन्दा लामो समय आफ्नो कलमको माध्यमबाट योगदान पुर्याएका वरिष्ठ पत्रकार विदुर गिरीलाई नगद रु १५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिने र दशकको पत्रकारिता सम्मान नगद रु ११ हजार १११ सहित म्युजिक खबर पाक्षिक–म्युजिक खबर डटकमकी सम्पादक एवं पत्रकार सबिता पोखरेललाई दिइने संयोजक रोशनीले बताइन् ।
वैशाख २५ गतेसम्म अवार्डको मनोनयनमा परेकाहरुले भोटिङ गर्न पाउने उनको भनाइ छ । रोशनीका अनुसार अन्य अवार्डको तुलनामा कार्यक्रमलाई थप स्तरिय र उत्कृष्ट बनाउनका लागि विगतको वर्षभरी सबैभन्दा धेरै दर्शक श्रोताले सुनेको गीत तथा गायक वा गायिलाई गोल्डेन माइक अफ द इयर, उत्कृष्ट शब्दलाई गोल्डेन पेन अफ द इयर, उत्कृष्ट संगीतलाई गोल्डेन हृदम अफ द इयर सम्मान दिने तयारी रहेको छ ।
त्यसैगरी परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता देखाउने गायक, गायिका सर्जकमध्य एक जनालाई डायस्पोरा सम्मानद्वारा सम्मान गरिने पनि तयारी रहेको रोशनीले बताइन् । गोल्डेन इयर र डायस्पोरालगायतका सम्मानबारे आयोजको निर्णय आइनसकेको र छिटै जानकारी गराउने उनको भनाइ छ ।
प्रतिक्रिया