काठमाडौँ । चलचित्र ‘बिगुल’ को शुभ–मुहूर्त गरिएको छ । बुधबार अक्षय तृतीयाको शुभ अवसर पारेर कोटेश्वर महादेवस्थान मन्दिरमा परेवा उडाएर चलचित्रको शुभ–मुहूर्त गरिएको हो । रमेश कोइरालाको निर्देशन रहने चलचित्र वैशाख तेस्रो साताबाट छायांकनमा निस्कनेछ । चलचित्रको मुहूर्त सट अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले दिए । विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसी, निर्देशक प्रदीप श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक सुचित्रा श्रेष्ठलगायत सहभागी कार्यक्रममा अभिनेत्री बेनिशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरूप एक जोडी परेवा उडाइएकी थिइन् ।
दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा, संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन रहनेछ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला हुन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको चलचित्रमा नरेन र बेनीशाका साथमा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबी भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीका साथमा बाल कलाकार श्रेयान्सी थपलियाले अभिनय गर्दै छन् । चलचित्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा रहनेछ ।
प्रतिक्रिया