सिन्धु जलसम्झौता रद्द गर्ने निर्णय असामान्य

सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चेनाव नदीहरूको पानी बाँडफाँटसम्बन्धी यो एक ऐतिहासिक दस्तावेज हो । यो सम्झौताअनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ । यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने बाँध बाँध्ने वा अन्त कतै नदीको प्रवाहलाई मोडन सक्दछ । त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ ।

श्रीमन नारायण

दक्षिणी छिमेकी भारतको जम्मू कश्मिरमा भएको जघन्य आतंकवादी हमलामा २६ जना निर्दोष नागरिकको हत्या भएको छ । उक्त आतंकवादी हमलामा परी ज्यान गुमाउनेमा १ जना नेपाली नागरिक सुदीप न्यौपाने पनि छन् । जम्मु कश्मिर विगत निकै वर्षदेखि नै अशान्त छ ।

पर्यटकीय सौन्दर्य मनोरम दृश्य र तालहरूको प्रचुरता रहेको जम्मु कश्मिरमा हिन्दुहरूको आकर्षणको प्रमुख केन्द्र माता वैष्णो देवीको मन्दिर र पवित्र अमरनाथ गुफा पनि रहेका छन् । कतिपय यात्रीहरू पर्यटकीय दृष्टिकोणले र कतिपयले धार्मिक दृष्टिकोणले अथवा दुवै दृष्टिकोणले त्यहाँ भ्रमण गर्ने गरेको पाइन्छ । हालै भएको यस जघन्य घटनामा १ जना स्थानीय मुसलमान पनि मारिएका छन् । जो संभवतः गाइडका रूपमा काम गर्दथे । भारतका कतिपय सञ्चार माध्यमहरू मारिएका उक्त गाइडको भूमिकालाई पनि सन्दिग्ध मानिरहेका छन् ।

भारत सरकारले उक्त आतंककारी घटनाका निम्ति पाकिस्तानलाई दोषी ठहर्याउँदै पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई नै एककिसिमले अनावश्यक ठानेको छ, तथा पाकिस्तानको आर्थिक, सामाजिक र दैनिक जीवनमा गम्भीर असर पार्न सक्ने खालको कठोर निर्णय पनि गरेको छ । जम्मु कश्मिर घटनाको चारैतिर विरोध भइरहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे.ट्रम्प, रुसका राष्ट्रपति ब्लादिमिर पुटिन, इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहुले यस आतंककारी हमलाको आलोचना गर्दै भारतलाई चाहिने सहयोगका लागि मित्र राष्ट्रहरू तयार रहेको विश्वास दिलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पर्क गरी जम्मु कश्मिरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरे र बहुमूल्य जीवन गुमाएका प्रति हार्दिक संवेदना व्यक्त गरे । भारतका प्रधानमन्त्री मोदीले पनि उक्त आतंकवादी हमलामा १ नेपाली नागरिकको मृत्यु भएकोप्रति संवेदना प्रकट गर्दै क्रुर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको विश्वास दिलाए । आतंकवाद विरुद्धको लडाइँमा नेपाल र भारत एक साथ उभिएका छन् । जम्मु कश्मिर आतंकवादी हमलाका हत्याराहरूले पर्यटकहरूको जाति र ठेगाना नसोधी केवल धर्म मात्रै सोधेका थिए ।

इस्लामिक आतंकवादी समूहका कारण पुरै विश्वमा अशान्ति फैलिएको छ । गैर मुसलमान हिन्दु, बुद्धिस्ट र इशाइलाई आफ्नो निशाना बनाउने यी धर्मान्ध आतंकवादी समूहहरू आपसमा पनि एकअर्कालाई मार्न पछाडि हट्दैनन् । खाडीयुद्ध, सिरिया, इराक, इरान, यमन, अफ्रिकी देश अमेरिका र युरोप कुनै पनि देशमा केही यिनीहरू शान्त बसेका छैनन् । गैर मुसलमान नपाए मुसलमानले नै मुसलमानलाई मार्ने क्रम पनि रोकिएको छैन ।

भारतको जम्मू–कश्मिरमा आतंकवादी हमलामा मारिएका मध्ये १ नेपाली बुटवल–१४ रुपन्देहीका सुदीप न्यौपाने घटना भएको ४ दिनअघि मात्रै आफ्ना आमा, बहिनी र ज्वाईंलाई लिएर त्यहाँ घुम्न गएका थिए । भनिन्छ, आतंकवादीहरूको धर्म हुँदैन तर जब कुनै व्यक्तिलाई उसको धर्म सोधेर नै ज्यान मार्ने काम गरिन्छ भन्ने हत्याराको धर्मलाई के भन्ने ? आखिर हिन्दु, बुद्ध, सिख, पारसी, यहुदी र इसाइहरूले त कहिल्यै निर्दोष नागरिकको हत्या गरेका छैनन् । कहिल्यै कसैको धार्मिक आस्थाबारे सोध्ने काम गरेनन् तर एक धर्म विशेषका मानिस मात्रै किन यति बढी धर्मान्ध, क्रुर र हिंस्रक हुने गर्दछन् त ?

हिन्दुवादी नेता मोदी सत्तामा आएपछि भारत सरकारले आफ्नो संविधानको धारा ३७० मा संशोधन गरी जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिनेसम्बन्धी प्रस्तावलाई खारेज गर्ने काम गर्यो । भारत सरकारको यस निर्णयबाट जम्मु कश्मिरमा पृथकतावादी आन्दोलन गर्नेहरू आक्रोशित भए । जम्मु कश्मिरका पृथकतावादी नेताहरूलाई पाकिस्तानको समर्थन छ । पाकिस्तान स्वयंले पनि जम्मु कश्मिरको आन्दोलनमा आफ्नो नैतिक समर्थन रही आएको दावी गर्दै आएको छ, नैतिक समर्थनको अर्थ परोक्ष समर्थन पनि मानिन्छ ।

धारा ३७० खारेज भएपछि जम्मु कश्मिरमा स्थायी शान्ति कायम भएको छ । देशी विदेशी पर्यटकहरू आउन थालेका छन् । कल–कारखाना खुल्न थालेका छन् । जननिर्वाचित सरकार अस्तिवमा छ । जम्मु कश्मिरमा अशान्ति र अराजकता फैलाउनेहरू पराजित अवस्थामा पुगिसकेका थिए । हालको घटनाले जम्मु कश्मिरमा भयको वातावरण कायम गर्ने प्रयास भएको छ तर यसमा सफलता हात लाग्ने छैन । किनभने वर्तमानमा आम कश्मिरी जनता पनि अब खुसी एवं शान्तिपूर्ण जीवन बिताउन चाहन्छन् । जम्मु कश्मिरका युवा युवतीहरू भारतभरि नै सक्रिय भएर अध्ययन कार्यमा, जागिरमा अथवा अन्य रोजगारमा लागेका छन् ।

अब कश्मिरका जनतालाई पाकिस्तानको सहानुभूति, समर्थन र सदभाव चाहिएको छैन संभवतः यिनै कारणले पाकिस्तान आफ्नो कश्मिर नीति असफल भएको कारण चिन्तित होला । प्रायःजसो अन्तर्राष्ट्रिय मञ्चहरूमा पाकिस्तानले जम्मु कश्मिरको विषयलाई उठाउँदै आएको छ, जबकी भारतले भने यसलाई आफ्नो अभिन्न अंग मान्दै पाकिस्तानको नियन्त्रणमा रहेको कश्मिरलाई पनि आफनो भूभागमा मिलाउन चाहान्छ र यसलाई आफनो भूभाग ठान्दै आएको छ । पाकिस्तानको नियन्त्रणमा रहेको कश्मिरमा पछौटेपन गरिबी, अशान्ति र बेरोजगारी रहेको छ जबकी भारत–कश्मिरमा त्यस्तो छैन ।

जम्मु कश्मिरमा भएको आतंकवादी हमलामा कुख्यात इस्लामिक अतिवादी संगठन (प्रतिबन्धित) लस्कर–ए तोयबाको हृदम नाम भएको संगठन (टिआरफ) रजिस्ट्रेसन फ्रन्टको हात रहेको भारतको दावी छ । पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले ३ जनाको स्केच जारी गरेको छ । उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अल तलहा रहेको छ । लस्कर–ए तोयबाका प्रमुख हाफिज सइद पाकिस्तानमा बसिरहेको भारतको आरोप छ । हुन त स्थानीय प्रशासनले सोधपुछका लागि दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

२६ जना निर्दोष नागरिक माथिको हमलापछि भारतले पाकिस्तानसँगको उसको कूटनीतिक सम्बन्धलाई समीक्षा गरी तत्कालको निम्न ५ वटा प्रमुख निर्णय लिएको छ, जसमध्ये भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौतालाई खारेज गरिएको छ । भारत र पाकिस्तानबीच सन् १९६० को सेप्टेम्वर १९ मा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चेनाव नदीहरूको पानी बाँडफाँटसम्बन्धी यो एक ऐतिहासिक दस्तावेज हो । यो सम्झौताअनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ । यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने बाँध बाँध्ने वा अन्त कतै नदीको प्रवाहलाई मोडन सक्दछ ।

त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले २ देशबीचको शक्ति सन्तुलन, जलनीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ । पाकिस्तानको महत्वपूर्ण प्रान्तहरू सिन्ध र पंजाबमा यसबाट पानीको हाहाकार मच्ने सम्भावना छ । पाकिस्तानको कृषि पिउने पानी र उद्योग कलकारखानामा यसवाट गम्भीर असर पर्न सक्छ । दोस्रो निर्णयमा, अटारी सिमानाका बन्द गरिने भएको छ । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किने निर्देशन दिइएको छ । पाकिस्तानी नागरिकको भिसा रद्द भएबाट अब पाकिस्तानीहरू भारतमा रहने वा आउने सम्भावना तत्कालको निम्ति रहेन ।

नयाँ दिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाडने १ वर्षको समय दिइएको छ । हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गरिएको छ । आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले उपरोक्त निर्णयहरू गरेको हो । पाकिस्तानले भने आफ्नो असंलग्नता नभएको जबाफ दिएको छ । हिन्दु भएकै कारण मारिएका सबै जनाको आत्माले शान्ति पनि त्यतिबेलै पाउनेछ जब दोषीहरू हिरासतमा आउनेछन् । जघन्य हत्याको जति बढी निन्दा गरे पनि कमै हुनेछ ।

प्रतिक्रिया