सि जिन्पिङ दक्षिण पूर्वी एसियाको भ्रमणमा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीले आगामी १४ अप्रिलदेखि दक्षिणपूर्वी एसियाका ३ देशको भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले १४ अप्रिलका दिन भियतनामको भ्रमण गर्ने भएका छन् । त्यसैगरी, १५ देखि १८ अप्रिलसम्म उनी मलेसिया र कम्बोडिया भ्रमणमा जानेछन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा २ मुलुकले ४० भन्दा धेरै सम्झौतापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको २ जना भियतनामी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चिनियाँ वाणिज्यमन्त्री वाङ वेनटाओले युरोपेली युनियन (ईयू), मलेसिया, साउदी अरब र दक्षिण अफ्रिकाका समकक्षीसँग भिडियो कलमार्फत वार्ता गरेका थिए ।

त्यसैगरी, चिनियाँ प्रधानमन्त्री ली चियाङले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनसँग कुराकानी गर्दै व्यापारिक सम्बन्धबारे छलफल गरेका थिए । अमेरिकाले चीनलाई लक्षित गरी व्यापार युद्ध चर्काएपछि राष्ट्रपति सीले विदेश भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यस्तो अवस्थामा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँग व्यापारिक सम्बन्ध बिस्तार गर्नका लागि सी विदेश भ्रमणमा जान लागेका हुन् ।
यसअघि ट्रम्पले भियतनाममाथि ४६ प्रतिशत, कम्बोडियामाथि ४९ प्रतिशत र मलेसियामाथि २४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । यद्यपि पछिल्लो समय भने उनले ती मुलुकमाथि लगाइएको भन्सार शुल्क १० प्रतिशतमा कायम राख्दै आगामी ९० दिनका लागि स्थगनको घोषणा गरेका छन् । अमेरिकाले चीनमाथि लगाउने भनिएको भन्सार शुल्क भने हरेक दिनजसो बढिरहेको छ ।

प्रतिक्रिया