तीनकुने प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाई पक्राउ

काठमाडाैँ । चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाई २ सातापछि पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यका अनुसार प्रसाईलाई शुक्रवार झापामा पक्राउ गरिएको हाे ।

प्रहरी प्रवक्ता आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडाैँ ल्याइँदै गरिएको बेहोरा जानकारी गराइन्छ ।’

उनलाई भारतको असममा नियन्त्रणमा लिइएको विवरण आए पनि प्रहरीले झापाको भद्रपुर क्षेत्रमा पक्राउ गरिएको बताएको छ ।

प्रहरीले उनलाई काठमाडाैँ ल्याउँदै छ । राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो ।

तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक भएपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीसहित करिब १७० जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया