काठमाडौं : नेपाली कला साहित्यको क्षेत्रमा स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय योगदान पुर्याउने श्रष्टाहरू सम्मानित भएका छन् । नागरिक मञ्च नेपाल, राष्ट्रिय प्रेस क्लब र नागरिक संगीत विद्यालयको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहमा उनीहरूलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा कवि, साहित्यकार एवं देवकोटा संघ सिलुगुडीका महासचिव कृष्ण प्रधान र सोही संघका सल्लाकार एवं समाजसेवी पदम क्षत्री र सामाजिक अभियन्ताका पश्चिम बंगाल क्षेत्रका टीका शर्मा निरौलालाई सम्मानित गरियो । यी तीनैलाई अन्तर्राष्ट्रिय सेवा सम्मान २०६९ द्वारा सम्मानित गरिएको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति एवं विशेष गरी महाकवी लक्ष्मीप्रसाद देवकोटाका कृतीलाई विश्वभर प्रचार/प्रसार एवं प्रवद्र्धनमा पुर्याएको विशेष योगदानको कदर गर्दे प्रधानलाई यो सम्मान प्रदान गरिएको हो । त्यस्तै क्षत्री र निरौलालाई नेपाली भाषी र समुदायको हकहितका लागि निरन्तर समर्पित रहेको र समाजसेवाका माध्यमबाट विशेष योगदान पर्याएवापत सम्मानित गरिएको हो । सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मन्त्री रामकुमार क्षेष्ठले फूलमाला, दोसल्ला र ताम्रपत्र प्रदान गरी सम्मान गरे ।
समारोहमा वरिष्ठ संगीतकार तथा नेपाल नाट्य प्रतिष्ठानका कुलपति अम्बर गुरुङ, समाजसेवी बिएल शर्मा, महेश अधिकारी, आरबी राई तथा पहिलो चलचित्र महिला निर्देशक तथा कलाकार रचना सिंहलाई राष्ट्रिय सेवा सम्मान ०६९ प्रदान गरियो । सम्मानितलाई नेपाल सरकारका मन्त्री छबिराज पन्तले फूलमाला, दोसल्ला र ताम्रपत्र प्रदान गरी सम्मान गरे ।
राष्ट्रिय प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्यको सभापतित्वमा सम्पन्न समारोहका संयोजन प्रमुख नागरिक मञ्च नेपालका तथा नागरिक संगीत विद्यालयका अध्यक्ष जिपी ढुंगेल रहेका थिए ।
सोही अवसरमा ढुंगेलकै शब्द रहेको आमा नेपाल र एकता बोलका उनकै एल्बमको दुई गीतका भिडियोसमेत देखाइयो । सांगीतिक माहोलमा सम्पन्न कार्यक्रममा यम बराल, उदय मनिला सोताङ, सत्य स्वरूप आचार्य मनमोहन थपलिया नव गायिका अक्षता सिंहलगायतका गायक/गायिकाले विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, वरिष्ठ निर्देशक द्वय यादव खरेल, तुलसी घिमिरे, वरिष्ठ गायक फत्यमान राजभण्डारी, संगीतकार प्राज्ञ बुलु मुकारुङ, डा. घनश्याम खतिवडा संगीतकार राजु सिंह, सम्भुजित बास्कोटा, गीतकार वसन्त बित्यासी, कलाकार कृष्ण मल्ल, निर्मल शर्मा गैँडा, दिनेश डिसी, जिया केसी, विनिता घिमिरे, विजया गिरीलगायत कलाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । (सौस)
प्रतिक्रिया