काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनीत भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकै पटक मनोनीत गरिएको हो । चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको हो ।
२ कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । उनलाई उत्पादन क्षेत्रमा काम गर्ने गरी जिम्मेवारी समेत दिइएको छ । माओवादीले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको र विधान संशोधनको मस्यौदा तयार गरिएको जनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चाहनाअनुसार नै उनलाई पार्टी राजनीतिमा फर्काइएको माओवादीभित्रकै केही नेताहरुले बताउँदै आएका छन् ।
पुन २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०४८ सालदेखि एकता केन्द्रबाट पूर्णकालीन भएर राजनीति सुरु गरेका उनी एकता केन्द्रको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भएका हुन् । ‘जनयुद्ध’को तयारी गर्दा उनी वाईसीएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक भएका थिए ।
‘जनयुद्ध’मा माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमान्डर, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर, डेपुटी कमान्डर र जनसेना प्रमुखसम्म भए । संसदीय राजनीतिमा उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।
प्रतिक्रिया