खाडीमा आप्रवासी कामदार उच्च जोखिममा

काठमाडौँ । सन् २०२१ को फेब्रुअरीमा प्रसिद्ध बेलायती पत्रिका ‘द गार्जियन’ले एउटा रिपोर्ट प्रकाशित गरेको थियो – कतारले सन् २०१० मा फिफा विश्वकप २०२२ को आयोजनाको अधिकार पाएपछि त्यसपछिका १० वर्षमा ६ हजार ५०० जना आप्रवासी कामदारको ज्यान गएको । सबैभन्दा बढी ज्यान गुमाउनेमा भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका कामदार रहेको रिपोर्टमा उल्लेख थियो । सो रिपोर्ट कतारमा रहेको सम्बन्धित देशका दूतावासबाट पाएको तथ्यांकका आधारमा तयार पारिएको समेत गार्जियनको दाबी थियो । कतारले भने बारम्बार त्यो आरोपलाई अस्वीकार गरेको छ । भौतिक संरचना निर्माणको क्रममा नभई कामदारको बढ्दो उमेर र प्राकृतिक कारणले ज्यान गएको दाबी कतारले गर्दै आएको छ ।

कतारले सन् २०१४ देखि २०२० को बीचमा कन्स्ट्रक्सन साइटमा ४० जनाको ज्यान गएको दाबी गरेको थियो । यसमा पनि ३ जनाको मात्र काम गर्दा ज्यान गएको दाबी कतारकोे थियो । कतारको यो दाबीलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) भने मान्न तयार छैन । आइएलओका अनुसार धेरै कामका कारण हृदयाघात, उच्च तापक्रम र कामको मात्रा अत्यधिक भएका कारण उनीहरूको ज्यान गएको थियो ।

आइएलओले सरकारी अस्पताल तथा एम्बुलेन्स सेवाको सेरोफेरोमा रहेर आफैँले तथ्यांक तयार पारेको थियो । आइएलओको तथ्यांकअनुसार सन् २०२१ मा ५० विदेशी कामदारको ज्यान गएको थियो । ५०० जना गम्भीर घाइते भएका थिए । यसैगरी, ३७ हजार ६०० जना सामान्य तथा मध्यम घाइते भए ।

सन् २०१६ मा एमनेस्टी इन्टरनेसलले एउटा रिपोर्ट प्रकाशित गरेको थियो । सो रिपोर्टका अनुसार कामदारले असहज वातावरणमा काम गर्नुपरेको स्थितिप्रति एमनेस्टीले आपत्ति जनाएको थियो । साथै कामदारले विदेश जाँदा रकम बुझाउन बाँकी भन्दै पासपोर्ट जफत गरेको आरोप पनि लगाइएको थियो ।


सन् २०१७ मा एमनेस्टीको सुझावअनुरूप कार्यक्षेत्रको अवस्था र कामदारको ज्यालादार र सुविधाबारे न्यूनतम मापदण्ड कायम गरिए पनि त्यसलाई अटेर गरिएको आरोप लगाइएको थियो ।

फिफा विश्वकप सुरु हुनुभन्दा १ महिनाअघि ‘फ्रान्स २४’ टेलिभिजनले एउटा रिपोर्ट प्रकाशित गरेको थियो । सो रिपोर्ट नेपालका लागि अझ भयावह थियो । फिफा विश्वकप आयोजनाको सुरुआतदेखि त्यस समयसम्ममा विश्वकप तयारीको क्रममा २ हजार नेपालीको ज्यान गएको रिपोर्टमा उल्लेख थियो । फ्रान्स २४ को समाचारमा उल्लेख छ, ‘धेरै मानवअधिकारवादी संस्था यसमा पनि सहमत छैनन् । योभन्दा धेरैको ज्यान गएको उनीहरूको मत रहेको फ्रान्स २४ कै रिपोर्टले जनाएको छ ।

यो विवाद बढिरहेकै समयमा सन् २०२२ को अन्त्यमा जर्मन टेलिभिजन ‘डिडब्लू’ले प्रकाशित गरेको रिपोर्ट त अझ खाडी देशहरू श्रम क्षेत्रका लागि जोखिमपूर्ण रहेको जनाएको छ । सो रिपोर्टले १० वर्षको बीचमा १५ हजार आप्रवासी कामदारको ज्यान गएको तथा तीमध्ये सबै विश्वकप संरचना निर्माणको क्रममा मात्र नभएको जनाएको छ । अन्य क्षेत्रमा काम गर्नेको पनि ज्यान त्यत्तिकै जाने गरेको छ । यसको मुख्य कारण त्यहाँको उच्च तापक्रम नै रहेको जनाइएको छ ।

खाडीबाट फर्कनेमा मिर्गौलाको समस्या

‘डिडब्लू’ले प्रकाशित गरेको रिपोर्टमा खाडी देशमा काम सकेर आफ्नै देशमा फर्केका २० देखि ५० वर्ष बीचको उमेर समूहका नागरिकमा मिर्गौलाको समस्या बढी देखिएको छ । यसको मूल कारण उच्च तापक्रम, पिउनयोग्य पानीको कमी र धेरै कामको चापले त्यसो भएको चिकित्सकहरूको मत छ । डिडब्लूले नेपालका स्वास्थ्यकर्मीका अनुसार सो रिपोर्ट तयार भएको जनाएको छ । नेपालका स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै तयार भएको सो रिपोर्टजस्तै गत वर्ष मानवअधिकारीवादी संस्था ह्युमन राइट वाचले पनि मध्यपूर्वका कामदारको खराब अवस्थाबारे सचेत रहन चेतावनी दिएको थियो ।

संयुक्त अरब इमिरेट्समा रहेका नेपालीसहित बंगलादेश, भारत र केन्याका कामदारसँगको वार्ताका आधारमा भन्दै सो रिपोर्ट तयार भएको थियो । रिपोर्टमा खाडी राष्ट्रको तापक्रम वृद्धि भएर ५५ डिग्री सेल्यिससम्म पुग्ने चेतावनी दिइएको थियो । उच्च तापक्रम र आद्र्रताका कारण आउने समस्या रोक्न बारम्बार भनिए पनि खाडीमा त्यो नियम कडाइका साथ लागू नभएको ह्युमन राइट वाचलगायत विभिन्न सञ्चारमाध्यमले समेत जनाएका छन् ।

२६ जुन, २०२३ मै ‘द गार्जियन’ले नेपालको स्वास्थ्य क्षेत्रका सरोकारवालालाई उद्धृत गर्दै दैनिक १ हजार ५०० श्रमिक खाडीतर्फ जाने गरेको र फर्कने समयमा धेरै जानको मिर्गौलाको जोखिमसमेत देखिने गरेको समाचार प्रकाशित गरेको थियो । राष्ट्रिय मिर्गौला केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्लेलाई उद्धृत गर्दै धेरै मासुको सेवन, गर्मी र धेरै पेनकिलरको मात्रा सेवन ती कामदारहरूको मिर्गौला फेल हुनुको कारण बनेको छ ।

यति मात्र होइन, आप्रवासी कामदारको पिउने पानीको विकल्पका रूपमा अन्य पेय पदार्थ उपयोग गर्ने बानी धेरै भएका कारण पनि जोखिम भएको काफ्लेले बताएका छन् । वार्षिक १६० दिनभन्दा बढी खाडी राष्ट्रको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुने गर्छ । यसले आप्रवासी कामदारमा मिर्गौला रोगको समस्या अझ बढाउने जोखिम बढेको छ ।

प्रतिक्रिया