धवलशमशेर र रवीन्द्रविरुद्ध राज्यविरुद्धको कसुर मुद्दा

हिंसात्मक प्रदर्शनमा उत्रिएका ४१ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले तिनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।

यस्तै, अदालतले अन्य ३० जनालाई पनि आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले आइतबार अपराह्न पक्राउ परेका १०० जनाभन्दा बढीमध्ये म्याद थपका लागि ४१ जनालाई अदालतमा पेस गरेको थियो । मिश्रसहितलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट हतकडी लगाएरै म्याद थप्न सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ लगिएको थियो ।

थुनुवाको पोसाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटिएफ कमान्डर मुनीन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको थियो भने धवलशमशेरलाई हत्कडी लगाइएको थिएन । साथै, मिश्र र राणालाई उपचारको व्यवस्था मिलाउन पनि अदालतले आदेश दिएको छ । मिश्र र राणाले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।

प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई भने अनुसन्धानपछि प्रहरीले रिहा गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रसहित सांसद् धवलशमशेरलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएपछि राप्रपाका कार्यकर्ताले आइतबार साँझ देशव्यापी रूपमा मसाल जुलुस निकालेका थिए ।

जनआन्दोलनको नेतृत्व जगमान गुरुङलाई

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले गर्ने भएका छन् । संयोजक नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहकको जिम्मेवारी गुरुङलाई दिइएको हो । सुवेदीले आइतबार विज्ञप्ति जारी गरी आन्दोलनको नेतृत्व ‘नेपाल ऋषि जगमान गुरुङले गर्ने’ जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वानसमेत गरेका छन् ।

प्रधानमन्त्रीले गोली हान्न आदेश दिएको सूचनापछि भागेँ : प्रसाईं

राजावादीहरूको ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ का मुख्य कमान्डर तोकिएका दुर्गा प्रसाईँले प्रहरीसँग माफी माग्दै एक भिडियो सन्देश जारी गरेका छन् । तिनकुनेमा आयोजित कार्यक्रममा प्रसाईँले प्रहरीमाथि अभद्र व्यवहार गर्दै सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए ।

फरार रहेका प्रसाईँले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सुरक्षा चुनौतीका कारण आफू लुकेर सुरक्षित स्थानमा बसेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूलाई जहाँ भेट्यो, उहीँ गोली हान्ने आदेश दिएको समेत आरोप लगाएका छन् । ‘म भागेको छैन, म भाग्दिनँ । किनभने मलाई गोन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ । मलाई सार्प सुटर प्रयोग गरी भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने मैले आदेश सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु,’ प्रसाईंले भनेका छन् । घटनापछि प्रहरीले खोजिरहेका प्रसाईँले आफू काठमाडौँमै रहेको बताएका हुन् ।

प्रतिक्रिया