वित्तीय क्षेत्रको संवेदनशीलता बुझौँ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौँमा आयोजित २ दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ’, गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुबै परिस्थितिमा सञ्चार माध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।

‘अर्थतन्त्रमा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ । पत्रकारले आर्थिक तथा वित्तीय सूचनाहरू सम्प्रेषण गरेअनुसार नागरिकले धारणा बनाउँछन् । पत्रकारले बुझेको कुरा सही भएमा सूचना पनि सही जान्छ’, गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैंकले सार्वजनिक गर्ने तथ्यांकहरू कसरी लिन्छ ? सार्वजनिक भएको तथ्यांक कहिलेसम्मको हो ? यस्ता सबै विषयको जानकारी लिएर त्यसको व्याख्या र विश्लेषण गर्नुपर्छ ।’

उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकताअनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए ।

‘वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा बढी संवेदनशील क्षेत्र हो । यो नागरिकको विश्वाससँग जोडिएको विषय हो । नागरिकमा यसको विश्वास रहेन भने समग्र आर्थिक वित्तीय क्षेत्रमा असर पु¥याउँदछ’, घिमिरेले भने, ‘आर्थिक तथा वित्तीय क्षेत्रमा रहको विषयमा सत्यतथ्य जानकारी बाहिर ल्याएको खण्डमा त्यसले केन्द्रीय बैंकलाई पनि सहयोग गर्नेछ ।’

प्रतिक्रिया