हमास–इजरायल दोस्रो चरणको युद्धविराम वार्ता, विपिनसहित २४ बन्दीको रिहाइ मुख्य एजेन्डा

काठमाडौँ । कतारको दोहामा हमाससँग युद्धविरामका लागि हुने वार्तामा नेपालका विपिन जोशीसहित जीवित २४ बन्दी रिहाइको विषय मुख्य एजेन्डा बन्ने भएको छ । ‘गाजा क्षेत्रमा २२ इजरायली, १ थाई र १ नेपाली जीवित बन्दी छन्,’ इजरायली उच्च स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले लेखेको छ । इजरायलमा कृषि विषय अध्ययन गरिरहेका नेपालका विपिन जोशी ७ अक्टोबरका दिन किबुजबाट हमासको अपहरणमा परेका थिए । इजरायलले रिहा हुन बाँकी विपिनसहित २४ जना जीवितै रहेको जनाएको छ ।

७ अक्टोबर, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको हिंसा अन्त्य गर्न यो वार्ता सकारात्मक हुने अपेक्षा गरिएको छ । सोमबार दोहामा इजरायल र हमासबीच दोस्रो चरणको युद्धविरामका लागि वार्ता हुँदै छ ।

अपहरणमा परेकामध्ये २ देशको नागरिकता हुनेहरूको रिहाइका लागि अमेरिका र हमासबीच धेरै पटक वार्ता भएको छ । युद्धविरामका लागि हमासले ४ वटा माग राखेको छ । प्यालेस्टिनी भूभागबाट इजरायली सेना पूर्ण रूपमा हट्नुपर्ने हमासको माग छ भने अहिले राहतमा गरिएको अवरोध अन्त्य हमासको अर्को माग हो । त्यस क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगको माग समेत हमासको छ ।

युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली रिहा भएका थिए । यद्यपि वार्ताको सहमतिमा नभए पनि ५ जना थाई नागरिक पनि रिहा भएका थिए । नोभेम्बर, २०२३ मा १०५ जना तथा त्यसअघि ४ जना रिहा भएका थिए । पहिलो चरणको युद्धविरामअघि नै ८ जनाको ज्यान गइसकेको थियो । सोमबारको वार्ताले दोस्रो चरणको युद्धविराम हुनेमा वार्ताका साझेदारहरू सकारात्मक छन् ।

इजिप्टलगायत अरब देशहरूको पहलमा युरोपका ४ शक्ति बेलायत, इटाली, फ्रान्स र जर्मनीले सकारात्मक संकेत गरेपछि वार्ता निष्कर्षमा पुग्ने अनुमान गरिएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि युद्धविरामका लागि वार्ता गर्न दोहामा प्रतिनिधिमण्डल पठाउने घोषणा गरिसकेका छन् । मध्यस्थकर्ताको निमन्त्रणा स्वीकार गर्दै सोमबार प्रतिनिधिमण्डल पठाउन लागिएको नेतान्याहूले बताए ।

सो वार्तामा अजरबैजानको समेत चासो छ । अजरबैजानका विदेशमन्त्री जेहुन बायमोभले पनि गाजामा युद्धविरामको आवश्यकताबारे बोलेका छन् । अहिले इजरायली अवरोधका कारण गाजामा खाने तेल र औषधि अभाव हुन थालिसकेको छ । गाजामा चरम मानवीय संकट देखिएपछि संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायले पनि युद्धविरामका लागि दबाब दिएका हुन् ।

प्रतिक्रिया