काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमा लगाएको भन्सार महसुलका कारण व्यापार युद्धको सम्भावना प्रबल देखिएको छ । अमेरिकी निर्णयविरुद्ध चीनले प्रतीकात्मक निर्णय मात्र गरेको छैन, ‘जस्तोसुकै युद्ध’का निम्ति तयार रहेको बताएको छ ।
चीनले पछिल्ला ३ दशकयता अमेरिकामाथि सबैभन्दा कडा र प्रतीकात्मक प्रतिक्रिया व्यक्त गरेपछि विश्वको पहिलो र दोस्रो आर्थिक महाशक्तिबीचको व्यापारिक र आर्थिक तिक्तता अझै चुलिएको छ । चीनको पछिल्लो प्रतिक्रिया मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा थप १० प्रतिशत अतिरिक्त भन्सार लगाउने गरी गरेको निर्णयपछि आएको हो । यद्यपि, यसको बदलामा चीनले पनि अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशत आयात शुल्क लगाइसकेको छ ।
‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो भन्सार युद्ध होस्, वा व्यापार युद्ध अथवा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ,’ मंगलबार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वासिङ्टनस्थित चिनियाँ दूतावासले ‘एक्स’मा ‘रिपोस्ट’ गरेको छ ।
ट्रम्पले कार्यभार सम्हालेयताको यो सबभन्दा तिखो चिनियाँ प्रतिक्रिया हो । चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ । बुधबार बिहान सुरु भएको चीनको जनकंग्रेस (एनपिसी) को सम्मेलन ११ मार्चसम्म जारी रहनेछ ।
सो चुनौतीको १ दिनपछि अर्थात् बुधबार चिनियाँ प्रधानमन्त्री ली छ्याङले यो वर्ष रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाइने घोषणा गरे । उनले ‘विश्वभरि १ शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेकाले’ रक्षा खर्च बढाउनुपर्ने जनाएका छन् ।
यो कंग्रेसको मूल लक्ष्य व्यापार युद्धको जोखिमका बीच समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको सन्देश जनतालाई दिने पनि हो । क्यानडा र मेक्सिकोजस्ता अमेरिकाका निकट साझेदार मुलुकविरुद्ध समेत आयात शुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन ।
बेइजिङमा प्रधानमन्त्रीको भाषणमा चीन थप खुला हुने र थप विदेशी लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो । चीनले आफू युद्धका लागि तयार भएको कुरा पहिले नै बताएको थियो । गत अक्टोबरमा राष्ट्रपति सी जिनपिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए । त्यसबेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो ।
विगतदेखिकै कटु सम्बन्ध
चीन र अमेरिका संसारका २ मुख्य प्रतिस्पर्धात्मक शक्तिका साथै आपसका आलोचकका रूपमा छन् । अहिले सामाजिक सञ्जाल ‘एक्स’मा राखिएको यो पोस्टले चीन अमेरिकाका लागि सबभन्दा ठुलो विदेश नीति एवं आर्थिक ‘खतरा’ हो भन्ने अमेरिकी नीति निर्माताहरूको भनाइमा थप बल मिलेको छ ।
बेइजिङस्थित अधिकारीहरूले ट्रम्पको शपथग्रहण समारोहमा राष्ट्रपति सीलाई निम्त्याएपछि नयाँ प्रशासनअन्तर्गत चीन–अमेरिका सम्बन्ध अलि न्यानो ढंगले अघि बढ्ने आस राखे पनि अतिरिक्त महसुलको नीतिसँगै सम्बन्ध अझ बढी चिसिएको छ । ट्रम्पले पनि ह्वाइट हाउस प्रवेश गर्नु केही दिनअघि २ नेताबीच ‘राम्रो फोन संवाद’ भएको बताएका थिए । गत महिना नै उनीहरूबीच अर्को फोन संवाद हुने भनिए पनि हुन सकेको छैन ।
युसएआइडीको ठाउँमा प्रभुत्व जमाउँदै चाइना एड !
अमेरिकाले युसएआइडीमार्फत् गर्दै आएको सहयोग रोक्ने निर्णय गरेपछि संसारका धेरै देशलाई अप्ठ्यारा परेको छ । कम्बोडियामा खानी सफा गर्ने काममा युसएआइडीले सहयोग गरेको थियो । युसएआइडीले गरेको सहयोग रोकिए पनि चीनले ४४ लाख अमेरिकी डलर सहयोग गरेपछि काम सुरु भएको छ । कम्बोडियन माइन एक्सन सेन्टरअन्तर्गत ४०० जना विशेषज्ञ ३४ हजार हेक्टर जमिन सफा गर्न तल्लीन छन् ।
कम्बोडिया एक उदाहरण हो । अमेरिका सहयोगबाट पछि हटेपछि विश्वलाई सहयोग गरेर फाइदा लिन चीन सक्षम हुन्छ या हुँदैन ? भन्ने प्रश्न तेर्सिएको छ । नेपालसहित एसियाली देशका साथै दक्षिण अमेरिका र अफ्रिकामा समेत चिनियाँ सहयोग छ । चीनले सन् २००१ देखि २०२३ सम्म अन्तर्राष्ट्रिय क्षेत्रमा १ दशमलव ३४ ट्रिलियन डलर खर्च गरेको थियो ।
चीनले सन् २०१८ मा चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी (सिआइसिसिए) नामक संस्था स्थापना गरेर सहयोग गर्दै आएको छ । यो संस्था स्थापनाअघि नै सन् २०१५ मा नेपालमा गएको महाभूकम्पपछि चीनका तर्फबाट गरिएको पुनर्निर्माण ‘चाइना एड’ को ब्यानरमा गरिएको थियो । नेपालमा अहिले चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) ले हिमालदेखि मधेससम्म जनस्तरमा शिक्षादेखि सशक्तीकरणका कार्यक्रममार्फत् काम गर्दै आएको छ ।
प्रतिक्रिया