नेतृत्वले बाटो बिराएपछि….

S_B_Bhandariराष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्यायका विषयमा बिपी कोइरालाले भनेका थिए ‘राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका यी तीन आधारभूत चाहनालाई एकीकृत रूपमा स्थान दिने राजनीतिक अवधारणा नै प्रजातन्त्र हो । कमसेकम एसियाली धारणामा त प्रजातन्त्र भनेको त्यही नै हो ।’
त्यस्तै अब्राह्म लिंकनले प्रजातन्त्रको परिभाषालाई यसरी अथ्र्याएका थिए, ‘जनताद्वारा जनताको लागि जनताले गर्ने शासन व्यवस्था नै प्रजातन्त्र हो ।’
उता, अमेरीकाका प्रथम राष्ट्रपति निर्वाचित हुँदा ओबामालाई पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले बधाइ दिँदै तपार्इंले त साँच्चै कमाल गरिदिनुभयो भन्दा त्यसको प्रत्युत्तरमा ओबामाले भने ‘यो मेरो कमाल होइन । यो त लोकतन्त्रको कमाल थियो । नत्र आज केन्या वा जाकर्तामा म बाख्रा चराउँदै हिँडेको हुने थिए ।’
नेपालको सन्दर्भमा आफूलाई लोकतन्त्रका पक्षपाति भन्नेहरू नै लोकतन्त्रका आधारभूत सिद्धान्तविपरीत कार्य गर्ने र लोकतन्त्रलाई आफूअनुकूल व्याख्या गर्दै आएका छन् । लोकतन्त्र केबल बोली र भाषणमा मात्र सीमित देखिन्छ । प्रजातन्त्र स्थापनाका लागि नै जन्मिएको नेपाली कांग्रेस आज आफ्नो आदर्शबाट च्यूत हँुदै गएको हो कि भन्ने आभास हुन थालेको छ । विगतदेखि नै कांग्रेस लोकतन्त्रका लागि अनवरत लडिरहेको छ, राणाविरुद्धको त्यो कठिन र चुनौतीपूर्ण लडाइँ होस् या तीन दशक लामो पञ्चायती व्यवस्था । अनि माओवादीको दश वर्ष लामो हिंसात्मक आन्दोलनका क्रममा पनि । यी सबैसँग मुकाबिला गर्दै आफूलाई विजयी गराउन सफल भएको कांग्रेस अहिले निकै थकित र पराजित मुद्रामा छ । कारण, अहिलेको असफल नेतृत्व नै हो । कांग्रेस नेतृत्वलाई यसरी व्याख्या गर्न सकिन्छ:
बिपी कोइराला: एक शताब्दी लामो राणाहरूको निरंकुश शासनविरुद्ध प्रजातन्त्रको स्थापनाका लागि जन्मिएको नेपाली कांग्रेसका संस्थापक र सम्बद्र्धक बिपी कोइराला नै हुन् । जनताको विश्वास, भरोसा, आस्था भएको एउटा प्रजातान्त्रिक आदर्श बोकेको पार्टी बनाउन बिपी सफल हुनु पनि भयो । ‘राष्ट्रियताका प्रश्नमा हामीले सदा राजालाई साथ दिएका छाँै तर प्रजातन्त्रको प्रश्नमा हाम्रो झगडा छ ।’ भन्ने भनाइ राख्दै उहाँले कांग्रेसको स्थापनाकालदेखि प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्नु भएन, न त प्रजातन्त्रका नाममा कम्युनिस्टहरूसँग कार्यगत एकता गरे, नत राजासँग नै सम्झौता गरे, न त राष्ट्रियताका सम्बन्धमा अन्य विदेशी शक्तिहरूसँग ।
गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई: बिपी विचारबाट प्रभावित व्यक्तित्व गणेशमान, कृष्णप्रसादले पनि कांग्रेसको आदर्शप्रति विचलित नभई जनतालाई प्रजातन्त्रका पक्षमा जनचेतना जगाउँदै जीवनको ऊर्जाशील समयमात्र नभई जीवनभर कठोर यातनाबाबजुत अनवरत प्रजातन्त्रका लागि लडाइँ लड्नुभयो । वि.सं. ०४६ सालको जनआन्दोलन नेता गणेशमान सिंहको नेतृत्वमा नै सफल भयो । ‘मेरो लडाइँ पदका लागि होइन प्रजातन्त्रका लागि हो’ भन्दै प्रजातन्त्र पुनस्र्थापनापश्चात् देशको पहिलो कार्यकारी पद अस्वीकार गरेर आफ्नो उच्च आदर्श व्यक्तित्व देखाउनुभयो भने कृष्णप्रसाद भट्टराईले पनि एक वर्षभित्रै विश्वकै उत्कृष्ट मानिएको संविधान र समयमै आमनिर्वाचन गराएर आफूलाई एक सफल राजनेताका रूपमा उभ्याउन सफल हुनुभयो ।
गिरिजाप्रसाद कोइराला: वि.सं. ०४८ सालमा प्रधानमन्त्री बन्न सफल भएपछि पार्टीभित्र मात्र नभएर राष्ट्रिय राजनीतिको मियो बन्नुभयो कोइराला । त्यसपछि उहाँको निधन हुँदासम्म उहाँकै वरिपरि केन्द्रित भयो नेपाली राजनीति । राणाकालदेखिका हरेक प्रजातान्त्रिक आन्दोलनका एक अग्रणी व्यक्तित्व कोइराला जब प्रधानमन्त्री बन्नुभयो, उहाँबाट प्रजातन्त्रको संस्थागत विकास हुने धेरैको अपेक्षाविपरीत उहाँमा देखिएको सत्तालोलुपताले सबैलाई आश्चर्यचकित बनाइदियो । पार्टीभित्र घात, अन्र्तघातको संस्कृति भित्र्याए । उनले जे बोले त्यही अन्तिम निर्णय हुने अवस्था आयो, पार्टी विधानभन्दा माथि आफूलाई राखे । गिरिजाकै कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता व्यक्तित्वहरू आफँैले जन्म दिएको पार्टीबाट विमुख हुने अवस्था सिर्जना भयो । माओवादीको प्रलोभनमा परेर स्व. कोइरालाले लोकतान्त्रिक मूल्य र मान्यतालाई लात हान्दै अगाडि बढे । उनलाई माओवादीले आफ्नो अभीष्ट पूरा गर्न राम्रैसँग प्रयोग गर्‍यो, कोइराला प्रयोग गरिए । चुनावै नलडेको माओवादीलाई एमाले बराबर हैसियत दिए, सरकारमा पनि त्यहीअनुसार स्थान दिए । एकप्रकारले भन्ने हो भने कोइरालाकै सदासयताका कारण माओवादी देशको ठूलो पार्टी बन्यो भने कांग्रेस धेरै ठूलो अन्तरले दोश्रो पार्टी बन्यो । तर, कोइरालाले पार्टीको लज्जास्पद हारको जिम्मा लिएनन् ।
सुशील कोइराला: त्यागी नेताका रूपमा आफूलाई प्रस्तुत गरी सभापति पद जितेका कोइरालाको सांगठनिक र नेतृत्व लिन नसक्ने कमजोर पक्ष भने गौण बन्यो महाधिवेशनताका । फलस्वरूप कांग्रेसको नेतृत्व सुशील कोइरालामा हस्तान्तरण भएसँगै कांग्रेसको राजनीति ओरालो लाग्ने क्रम सुरु भयो, जुन अहिले पनि निरन्तर जारी छ । आन्तरिक र बाह्य रूपमा इतिहासमै सबैभन्दा कमजोर बनेको छ, कांग्रेस । नेपाली राजनीतिको केन्द्रमा रहँदै आएको कांग्रेस आज किनारा लागेको अवस्थामा छ । भातृसँगठनहरू अस्तव्यस्त छन् । आफूलाई मन पर्ने व्यक्तिलाई टीका लगाएर नेतृत्वमा ल्याउने कोइरालाको मनसायकै कारण सबै भातृ सँगठनहरू निष्क्रृयप्राय: छन् । बाहिर लोकतन्त्रका कुरा गरे पनि आन्तरिक रूपमा लोकतन्त्र टर्च बालेर खोज्नुपर्ने अवस्थामा छ ।
‘छिटो पुग्नु छ भनेर यात्रा छोट्याउनतर्फ लाग्याँै भने झन् खाडलमा गाडिन्छौँ’ भन्ने विचार दिनुहुने बिपीकै अनुयायीबाट यसको ठीक उल्टो कामहरू हुनु दुर्भाग्यको कुरा हो । दलीय व्यवस्थाका लागि सधैँ लड्दै आएका नेताहरू नै आज बाध्यता भन्दै निर्दलीय व्यवस्था लागू गर्दै छन् र यसलाई आफ्नो विजय भन्दै छन् । यो कस्तो लोकतन्त्र हो, जहाँ दलभन्दा बाहिरको व्यक्ति राज्यको कार्यकारी प्रमुख हुन्छ ? के दलहरू अब असक्षम भएकै हुन् त ? लोकतान्त्रिक लडाइँमै आफ्नो स्थापनाको लामो समय खर्चेको कांग्रेसले खोजेको लोकतन्त्र यही हो त ? आज पार्टीका केही नेताहरू आफ्नो असफलता लुकाउन यसलाई आफूअनुकूल व्याख्या गरिरहेका भए पनि लोकतन्त्रप्रति आस्था राख्ने धेरैलाई फेरि एकपटक झस्काएको छ । ०१७ साल पुस १ गते तत्कालीन राजाले सेनाको सहयोगमा देशमा निर्दलीय व्यवस्था लागू गरे । आज दलहरूले नै खुसीका साथ निर्दलीय व्यवस्थाको पुनस्र्थापना गरेका छन् ।
‘हाम्रा लागि प्रजातन्त्रवादका सम्बन्धमा कुनै पनि सम्झौतावादी विचार अरुचिका हुनेछ’ भनेर अडान राख्ने बिपीलाई आजको भन्दा निकै नै प्रतिकूल अवस्थामा पनि देशी विदेशी कुनै पनि शक्तिले झुकाउन सकेन । तर, आज माओवादीले कांग्रेसलाई घिसार्दै लगेको छ । प्रचण्डले हेटौंडा महाधिवेशनमा भनेका थिए, ‘कांग्रेस र एमालेलाई नाकमा नत्थी लगाएर भए पनि प्रधान्यायाधीशको नेतृत्वको चुनावी सरकारमा सहमत गराउँछौँ ।’ आखिर त्यही भयो, जे प्रचण्डले हिजो हेटौंडामा बोलेका थिए ।
पार्टी स्थापनापछिको चार दशक लामो कठिन र निकै चुनौतीपूर्ण यात्राका दौरानमा समेत कहीँ पनि नेतृत्वले प्रजातन्त्रमा कसैसँग सम्झौता गरेनन् । तर, ०४६ सालपछिको कांग्रेसको नेतृत्वले बाटो बिराउँदै गएको पाइन्छ । हिजो प्रजातन्त्रको आदर्शकै लागि लडेका, जेलनेल, दु:ख कष्ट भोगेका नेताको नेतृत्व क्षमता, नैतिकता, इमान्दारीता र जिम्मेवारीपनमा किन ह्रास आयो, यसको रहस्य के हो ? बिपीको पालामा दुईतिहाइ मत ल्याउने कांग्रेस आज आफ्नै अस्तित्वको खोजी गर्नुपर्ने अवस्था कसरी आयो ? देशको केन्द्रभागमा रहँदै आएको पार्टी कसरी एकाएक किनारा लाग्न पुग्यो ? यी र यस्ता तमाम प्रश्नको उत्तर खोज्ने बेला आइसकेको छ । हिजोसम्म नेतृत्वले गरेको कमीकमजोरीहरूलाई टुलटुलु हेरेका कांग्रेसीजनहरूले अब प्रश्नको उत्तर खोज्नै पर्छ र नेतृत्वले पनि एकएक गरेर उत्तर दिनै पर्छ । नेतृत्वका गल्तीलाई नजरअन्दाज गर्दै जाने हो भने कांग्रेस ‘एकादेशको कथा’ नबन्ला भन्न सकिन्न ।
(लेखक बिपी. चिन्तन प्रतिष्ठानका सह–महासचिव हुन् ।)

प्रतिक्रिया