वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फेरि वार्ताका लागि प्रयास गर्ने टुंगोमा पुगेका छन् । गत शुक्रबार ओभल अफिसमा भएको ट्रम्प–जेलेन्स्की वार्ता चर्काचर्कीपछि बिथोलिएको थियो ।
अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकी कंग्रेसलाई मंगलबार साँझ सम्बोधन गर्ने क्रममा सोही खबरलाई पुष्टि गर्दै जेलेन्स्कीले आफूलाई पत्र पठाएको भन्दै आफू पनि युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । कंग्रेसमा सम्बोधन क्रममा ट्रम्पले युद्ध अन्त्य गर्ने जेलेन्स्कीको चाहनाको सराहनासमेत गरे ।
जेलेन्स्की सम्झौताका लागि तयार भए युक्रेनको सुरक्षित भविष्यका लागि आर्थिक सहयोग गर्न तयार भएको समेत ट्रम्पले कंग्रेसलाई बताए । यद्यपि गत शुक्रबार हस्ताक्षर गर्ने तयारी भएको सम्झौतामा यसबीचमा केही परिवर्तन भए÷नभएको भन्ने खुलासा भएको छैन । न अन्तिम हस्ताक्षरको मिति नै तय भएको छ । यसअघि जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले जनाएको थियो । ट्रम्पले कंग्रेसलाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास सुरु भएको पुष्टि भएको हो ।
उता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि केही दिनयता यस्तै प्रयास गरिरहेका थिए । जेलेन्स्कीले सोमबार सामाजिक सञ्जालमा शुक्रबार ओभल अफिसमा भएको घटना बिर्सनलायक भएको लेखेका थिए । भोलिपल्टै फेरि जेलेन्स्कीले सामाजिक सञ्जालमै कसैले पनि लगातारको युद्ध नचाहेको बताउँदै शुक्रबारको घटनालाई दुःखद् रूपमा लिएको विचार व्यक्त गरेका थिए । उनले आफू राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न चाहेको बताएका थिए ।
जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्न आफू सहमत भएको समेत मंगलबार नै जनाइसकेका छन् । युरोपेली देश पनि युद्ध विरामको पक्षमै उभिएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युक्रेनको अहिलेको अवस्थाले युरोपमा निराशा बढेको जनाउँदै सिंगै युरोप युद्धविरामको पक्षमा रहेको संकेत गरेका छन् ।
प्रतिक्रिया