चीनका राष्ट्रपतिले भने– देशको अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको छ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको अर्थतन्त्रले अझै पनि धेरै कठिनाइको सामना गरिरहेको बताएका छन् । राष्ट्रपति चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा यस्तो बताएका हुन् ।

‘अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,’ सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् ।

‘अर्थतन्त्र सुधारमा देखिएका समस्याका बावजुद यो पनि स्वीकार गर्नुपर्छ कि असंख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारभूत आधारहरू ठोस रहेका छन्,’ राष्ट्रपति सीले भने । उनले अगाडि भने, ‘दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।’

चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता दुई सत्रमा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् ।

प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ ।

प्रतिक्रिया