प्रयाग महाकुम्भ : धार्मिक पर्यटनको अनुमप नमुना

खर्बौंको कारोबारसहित अन्तर्राष्ट्रिय सम्बन्ध सेतुका रूपमा स्थापित

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराज अर्थात् इलाहवादमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला बुधबार शिवरात्रिको दिन सकिएको छ । विश्वकै सबैभन्दा ठुलो धार्मिक–सांस्कृतिक पर्वको पर्याय बनेको महाकुम्भमा यस पटक ६५ करोडभन्दा बढी भक्तजन सहभागी भएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् ।

सुरुमा भारत र नेपालका सनातन धर्मावलम्बी मात्रै सामेल हुने कुम्भ पछिल्ला वर्र्ष सबै धर्मावलम्बीबीच परिचित हुन थालेको छ भने भारतका लागि अर्बौं राजस्वसहित आर्थिक कारोबार र अन्तर्राष्ट्रिय सम्बन्ध सेतुका रूपमा स्थापित बन्दै गएको छ । उत्तर प्रदेश सरकारका अनुसार यस वर्षको कुम्भबाट ४६ अर्ब अमेरिकी डलर बराबर (करिब ५ खर्ब रुपैयाँ) राजस्व उठेको जनाइएको छ । भारतीय अधिकारीकै अनुसार कुम्भ मेलामा ४ लाख करोड भारतीय रुपैयाँको आर्थिक गतिविधि भएको जनाइएको छ । यो भारतको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत हो ।

यस वर्षको कुम्भ मेलामा ७७ देशका ११८ जना प्रतिनिधि प्रयाग मेलामा उपस्थित भए । तीमध्ये भुटानी राजा जिग्मे केशर नाम्गेल वाङ्चुक, भारतका लागि स्लोभाकियन राजदूत रोबर्ट मेक्सिन, भारतका लागि जिम्बाबेका राजदूत स्टेला एनकोमो, भारतका लागि अर्जेन्टिनाका राजदूत मारियना काउसिनोलगायत उपस्थित भएपछि उसका लागि यो पर्व क्रमशः अन्तर्राष्ट्रिय सम्बन्ध सेतु बन्दै गएको संकेत गरेको छ ।

उत्तर प्रदेशका डिजिपी प्रशान्त कुमारले ४५ दिनमा महाकुम्भको अवसरमा सिंगै भारतको करिब आधा जनसंख्या अर्थात् ६५ करोडभन्दा बढीले स्नान गरेको दाबी गरे । अनौपचारिक सूत्रहरूका अनुसार कुम्भमा नेपालबाटै ५ लाखभन्दा बढीले सहभागिता जनाएका थिए । महाकुम्भका श्रद्धालुहरू यति धेरै थिए कि त्यसबेला हराएका ३० हजारभन्दा बढी श्रद्धालुलाई बल्ल परिवारको सम्पर्कमा ल्याइएको डिजिपी कुमारले बताए ।

कुम्भमेलामा आउनेको संख्या गणनाका लागि १ वर्षअघि देखि नै एआईमार्फत् तयारी गरिएको थियो । यसको अभ्यास १ वर्षअघिको माघ महिनामै गरिएको थियो । १ वर्षअघि नै यसका लागि कम्प्युटर भिजन मोडल तयार गरिएको थियो । क्यामेरामार्फत् भिजुअल डेटा लिन मेसिनहरू जडान गरिएको थियो । मेला भएको स्थानमा १७०० क्यामेरा जडान गरिएको थियो भने ५०० वटा एआई जडित क्यामेरा थिए ।

सहरभरि रहेका क्यामेरा अप्टिकल फाइबर नेटवर्कअन्तर्गत थिए । यी सम्पूर्ण मोडल प्रयोग गरेर पाइएका डेटा इन्टरगे्रटेड कमान्ड एन्ड कन्ट्रोल सेन्टर (आइसिसिसी) मा पुगेपछि त्यसले अन्तिम डेटा तयार गरेको हो । भारतमा आयोजना भएको यो मेलाको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यसको महत्व विश्वव्यापी छ । ब्रिटिस इतिहासकार सर सिड्नी लोले सन् १९२८ मा प्रकाशन गरेको पुस्तक ‘इन्डिया अफ द इन्डियन्स’ मा १९०६ को इलाहावाद कुम्भलाई सम्झिँदै लेखेका छन्, ‘यसभन्दा प्रभावशाली, मन लोभ्याउने र यसभन्दा आवश्यक पर्व सारा देशभरि अर्को हुन सक्दैन ।’

यसको ६२ वर्षपछि १९९० मा ‘ट्राभल्स इन इन्डिया’ नामको अर्को पुस्तक प्रकाशित भएको थियो । बिबिसीका भारतस्थित तत्कालीन संवाददाता मार्क टुलीले लेखेका छन्, ‘भारतमा मैले बिताएको लामो समयका क्रममा कुम्भजस्तो विशाल घटना अर्को कुनै थिएन ।’ प्रसिद्ध चिनियाँ यात्री हुआन त्सांगले सातौँ शताब्दीमै प्रयागराजमा एक भव्य आयोजना हुने गरेको उल्लेख गरेका छन् । त्यस समयमा पनि हजारौँ भक्तजन उपस्थित भएको उनले जनाएका छन् ।

कुम्भ मेलाको फराकिलो स्वरूप भने मुगलकाल र पछि ब्रिटिस शासनका क्रममा भएको हो । मुगल साम्राज्यका क्रममा कुम्भ मेला आयोजनामा राज्यको समन्वय र व्यवस्थापनको प्रक्रिया थप व्यवस्थित हुँदै गएको जनाइन्छ । ब्रिटिस शासनको समयमा कुम्भ मेलामा व्यवस्थापन र संरचनात्मक विकासको नयाँ चरण सुरु भएको थियो । कुम्भ मेला प्रशासनका दृष्टिकोणबाट पनि व्यवस्थित बनाइएको थियो ।

सम्राट अकबरले प्रयागराजको पवित्रतालाई मान्यता दिए । उनले र यस क्षेत्रको नाम इलाहावाद राखेका हुन् । अकबरका इतिहासकार अबुल फजलले आफ्नो कृति ‘आइन–ए–अकबरी’ मा संगममा आयोजित वार्षिक मेला र स्नान समारोहको विस्तृत वर्णन गरेका छन् । यसले कुम्भ मेला धार्मिक उत्सवका रूपमा मात्र नभई एक महत्वपूर्ण आर्थिक र सांस्कृतिक क्रियाकलापका रूपमा स्थापित भएको देखाउँछ ।

पहिलो संगठित कुम्भ

ब्रिटिस प्रशासनले सन् १८५८ मा कुम्भमेला आयोजना गरेको थियो । आधिकारिक दस्तावेजअनुसार यो नै पहिलो कुम्भ मेला हो । भक्तजनको विशाल भिड देखेर ब्रिटिस अधिकारीहरूले स्नान घाटको स्वच्छता, सुविधाजस्ता आधारभूत संरचनामा सुधारको थालनी गरेका थिए । प्रशासनिक दृष्टिकोणबाट कुम्भ मेलालाई धेरै व्यवस्थित र संरचित बनाउन थालियो । पर्वलाई अझ प्रभावकारी ढंगले मनाउनका लागि नयाँ उपायहरूको सुरु भएको थियो ।

यसले कुम्भ मेलालाई १ तीर्थस्थलका रूपमा मात्र होइन, एक उत्कृष्ट व्यवस्थित धार्मिक उत्सवका रूपमा पनि प्रतिष्ठित बनायो । महाकुम्भ मेला सदियौँदेखि विकसित भएको हो । हरेक कुम्भको आयोजनाले समकालीन सामाजिक, राजनीतिक र सांस्कृतिक परिवेशलाई दर्साउँछ ।

१९औँ शताब्दीमा ब्रिटिस कालमा रेलवे प्रणालीको विकास भएपछि प्रयागराजमा यात्रा गर्ने तरिकामा ठुलो परिवर्तन भएको हो । ‘कुम्भ स्पेसल’ ट्रेनहरूका माध्यमबाट लाखौँ तीर्थयात्रीहरूको यात्रा सहज हुन थाल्यो । भारतको इतिहासमा कुम्भ मेला प्रतीक मात्र नभई सांस्कृतिक एकताको एउटा अनुपम उदाहरण पनि मानिन्छ । सो मेलामा भारतमा रहेका प्राय सबै धर्मावलम्बीले स्नान गरेका छन् । कुम्भको प्रभाव ऐतिहासिक कालदेखि नै संसारका धेरै देशमा भएको देखिएको छ ।

प्रतिक्रिया