बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–७ भिमगिठेबाट यात्रु लिएर वडा–१० दर्लिङतर्फ जाँदै गरेको लु३च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो ।
घटनामा निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो । जिप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओट लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा बडिगाड–९ की ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल र चालक बडिगाड–९ खहरेका हिमाल घर्ती मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताए । दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए । जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया