उर्जामन्त्रीमाथि टिप्पणी गर्ने दूधकोसी आयोजना प्रमुखलाई हटाउन मन्त्रालयको ताकेता

काठमाडौँ । आफूबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको भन्दै उर्जामन्त्री दीपक खड्काले दूधकोसी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत इन्जिनियर विमल गुरुङलाई तत्काल हटाउन निर्देशन दिएका छन् । मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन भनेको हो ।

यो आयोजना नेपाल विद्युत प्राधिकरणअन्तर्गतकै हो । गुरुङ प्राधिकरणकै १० औँ तहका प्रबन्धक हुन् । यसअघि उनले माथिल्लो तामाकोसी आयोजनाको सफलतापूर्वक निर्माणको जस पाएका थिए । त्यही कारणले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुरुङलाई दूधकोसीको जिम्मा दिएका थिए ।

गुरूङले फेसबुकमार्फत् कुलमान घिसिङलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिँदै उर्जा मन्त्री सड्का र सरकारले नियुक्त गरेका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई लक्षित गर्दै विभिन्न टिप्पणी गरेका थिए । उनको उक्त अभिव्यक्ति मन्त्री खड्कालाई मन परेको थिएन । गुरुङलाई हटाउन यसअघि पटकपटक मौखिक रूपमा निर्देशन पनि दिइसकिएको, तर पनि कुलमान घिसिङले उनलाई नहटाएपछि पत्र नै पठाएको हो ।

पत्रमा लेखिएको छ, ‘तहाँ प्राधिकरणअन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।’

गुरुङलाई हटाउनेबारे प्राधिकरण सञ्चालक समितिमा समेत छलफल तथा निर्देशन भएपनि अहिलेसम्म नहटाइएको भन्दै ताकेतास्वरूप उक्त पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया