म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा ३ वटा जलविद्युत् अयोजना निर्माण सुरु भएको छ । धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको ३ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको हो । ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ, भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।
त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न ८ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये ३ वटा आयोजनाको निर्माण काम अघि बढेको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
गाउँपालिका अध्यक्ष पुनले भने, ‘जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौँ ।’
मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । २०८१ वैशाख २८ देखि पूर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कुल ५ किलोमिटर ७०० मिटर सुरुङमध्ये ५३० मिटर सुरूङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।
उनका अनुसार, २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्गृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि ६ किलोमिटर दुरीमा पर्ने जेल्टुङमा विद्युत्गृहका लागि पूर्वाधार बनाउने र सुरूङ निर्माणको तयारी गरिएको छ । सुरुङ निर्माण र विद्युत्गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच बिस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए ।
मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरुङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जानकारी दिए । आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइट लगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युत्गृहबाट सुरुङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।
प्रतिक्रिया