४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । स्थानीयको अवरोध हटेपछि काठमाडौंको पूर्वी भेगस्थित लप्सीफेदीमा विद्युत् सबस्टेसन निर्माणले गति लिएको छ । बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले लामो समयदेखि विरोध गर्दै आएका थिए ।

सबस्टेशन निर्माणको विवादले झडप समेत निम्त्याएको थियो। सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुशीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको तथा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिएपछि शंखरापुर–३ बोझिनीमा ४०० केभी सबस्टेशनको काम अघि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

तामाकोशी तथा सुनकोशी नदी र सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००-२२०, २२०-१३२ र १३२-११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ । करीब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।

खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजना अन्तर्गत ४००-२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवन लगायतका सिभिल संरचनाको निर्माण करीब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानल लगायतका सम्पूर्ण उपकरणको आपूर्ति करीब ८० प्रतिशत भइसकेको छ । आयोजना अन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत २२०-१३२ र १३२-११ केभी तहका सबस्टेसनका सिभिल संरचनाको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणको आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचनाको निर्माण सम्पन्नपछि सबस्टेसनमा उपकरण जडान शुरू हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भए पनि हालसम्म निर्माण प्रगति सन्तोषजनक नै देखिएको घिसिङले बताए । स्थानीय बािसन्दाले उठाएका सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेल मैदान गुम्बा निर्माण, रोजगारी लगायतका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिएको बताए ।

तामाकोशी–काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ। प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा गरिएको छ। करीब तीन किलोमिटर मात्र तार तान्न बाँकी छ ।

त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये दुई वटाको मात्र निर्माण बाँकी छ । करीब ४२ किलोमिटर तार तानिएको छ। तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ।

एमसीसीसी तत्कालका लागि स्थगित भएको छ। अमेरिकाले यो परियोजनामा अनुदान दिएन भने यसलाई अघि बढाउन नेपाल सरकारले नै स्रोत जुटाउनुपर्ने बाध्यता छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास ब्यांकको ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको छ ।

लम्सीफेदी–चाँगुनारायण निर्माणमा अझै अवरोध

लप्सीफेदी सबस्टेसनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भने अझै अवरोध नै छ । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करीब सात वर्षदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण शुरू हुन सकेको छैन ।

आयोजना अन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । तर, विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रुपमा काठमाडौंको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चावहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

प्रतिक्रिया