काठमाडौं । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना भएको छ । स्टेककहोल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग गर्ने उद्देश्यले चाइल्डहुड क्यान्सर एलायन्स स्थापना भएको हो ।
नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएकोे दाबी गरिएको छ । यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर यूकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग, तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्ने बताइएको छ ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको उद्घघाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो । एलायन्सको मुख्य उद्देश्य उपचार बाहेकका आवश्यक सहयोगहरू प्रदान गर्नु, जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु रहेको छ ।
कार्यक्रमको एक विशेष प्यानल छलफलमा डा. बिश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए । छलफल डा. बिश्वनाथ अधिकारी को संयोजनमा रमेश गुप्ता मेमोरियल ट्रष्टका निर्देशक सञ्जय अग्रवालद्धारा अध्यक्षता गरिएको थियो भने डब्लुएचओ नेपालका डा. सुमन पन्थी सह–अध्यक्ष थिए ।
नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले प्रारम्भिक पहिचान र सचेतना अभियान, ताकि क्यान्सरको चाँडै नै निदान र उपचार हुन सकोस् भनेर काम गर्ने बताइएको छ । त्यस्तै, बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग, उपचार बाहेकका कठिनाइ कम गर्न र शिक्षा छात्रवृत्ति तथा बाल क्यान्सर बाँचेकाहरूको समाज, दीर्घकालीन पुनःस्थापनाका लागि काम गर्ने बताइएको छ ।
नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला, यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको जनाएको छ ।
प्रतिक्रिया