सुधार केन्द्रभित्रै कुटपिट हुँदा युवकको मृत्यु

काठमाडौँ । आपसी विवादले उग्ररूप लिएपछि बाराको नवजन्म सुधार केन्द्रमा भएको कुटपिटबाट १ जना युवकको मृत्यु भएको छ । बिहीबार राती सुधार केन्द्रभित्र विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया–९, रामपुरटोलका ३७ वर्षीय मण्डलको मृत्यु भएको छ । मण्डल १९ दिनअघि मात्र उक्त सुधार केन्द्रमा भर्ना भएको खुलेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका मण्डललाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा र त्यसपछि प्रादेशिक अस्पताल लगएिको थियो । तर अस्पतालले २÷३ घण्टा पहिले नै मृत्यु भइसकेको बताएको थियो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अरू २ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालकमध्येका कलैया–३ का १९ वर्षीय सर्फराज मन्सुर, कलैया–४ का २२ वर्षीय निरज सरार्फ छन् । यस्तै, कलैया–६ का २० वर्षीय महमद आशु मियाँ शेख, कलैया–१ का २४ वर्षीय अरुण शरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । सुरज शेख र साहिल अली फरार छन् ।

उनीहरूले कुटपिट गर्दा मण्डलको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूले सुधार केन्द्रमा जोडिएको सिसिटिभी क्यामेरा पनि निकालेर फ्याँकेका थिए । प्रहरीले सिसिटिभी फुटेजसमेत ‘रिकभर’ गरेको छ ।
यसअघि वैशाखमा कैलालीको घोडाघोडी नगरपालिका–४ को नयाँ बाटो पुनस्र्थापना केन्द्रमा २५ वर्षीय सुनील शाहीको कुटपिटपछि मृत्यु भएको थियो । त्यहाँ पुनस्र्थापना केन्द्रका सञ्चालकसहित १६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया