सल्यान । जिल्लाकै पहिलो नगरपालिका शारदा नगरपालिका सल्यानले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ । राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको अवसर पारेर नगरपालिकाले लोगो सार्वजनिक गरेको हो ।
नयाँ लोगो नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, र आर्थिक विशेषताहरूलाई झल्काउने गरी तयार गरिएको छ । यसमा नगरपालिकाको प्रमुख धार्मिक स्थल खैरावाङ भूवनेश्वरी मन्दिर, नगरको उर्वराभूमि सिंचित गर्ने शारदा नदी, वडा नं. ७ र ९ मा उत्पादन हुने टिमुर, वडा नं। १४ माल्नेटामा उत्पादन हुने अदुवा, र सल्यानको पहिचानसँग जोडिएको सल्यानको खुकुरी समावेश गरिएको छ ।
लोगो सार्वजनिक गर्ने क्रममा शारदा नगरपालीकाका नगरप्रमुख प्रकाश भण्डारीले, नयाँ लोगो नगरपालिकाको मौलिकता झल्काउने गरी डिजाइन गरिएको र यसले यहाँको सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोतहरू र आर्थिक महत्तवलाई उजागर गर्ने बताए । यसै बिच नगरपालिकाले शारदा नामक पुस्तक समेत बिमोचन गरेको छ । आर्थिक बर्ष २०८१ मा सम्पन्न भएका असल अभ्यासका काम सहितको हाम्रो शारदा नामक पुस्तक बिमोचन गरेको हो ।
शारदा नगरपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले सयुक्त रुपमा पुस्तकको विमोचन गरे । पुस्तकमा शारदा नगरपालिकाले गरेका असल अभ्यास, गतिविधि, नगरपालिकाद्धारा जारी गरिएका कानून आदिलाई समेटिएको छ ।
प्रतिक्रिया