काठमाडौँ । ४ देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारीअनुसार पहिलोपटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता ५ देखि १४ फागुनसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रवक्ता सुरेश साहले दिएको जानकारीअनुसार एन्फाले पहिलोपटक आयोजना गर्न लागेको ४ देश सम्मिलित सो प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ ।
सो प्रतियोगिताको ‘टिकेटिङ राइट’ १ करोड ३५ लाख रुपैयाँ र ‘ब्रोडकास्टिङ राइट’ ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५०० तोकिएको छ ।
एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ ।
एन्फाकी महिला समितिकी प्रमुख सरिला श्रेष्ठले सो प्रतियोगिता नेपालका लागि महत्वपूर्ण अवसर हुने बताएकी छन् । सौर्य दैनिकसँगको कुराकानीमा श्रेष्ठले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधिका लागि महत्वपूर्ण अवसर हुने जनाइएको छ ।
यसअघि लेबनानमा निर्धारित थ्री नेसन्स कप नेपालले गुमाएको थियो । लेबनानमा युद्ध चलिरहेका कारण नेपालले सो प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । पछिल्लो समय नेपाली महिला फुटबलका लागि पायनियर समय बनेको छ । प्रायोजकको चासो, खेलाडीको मिहिनेत तथा परिश्रमका कारण यो सबै सम्भव भएको सरिला बताउँछिन् ।
नेपालमा हुने यस पटकको प्रतियोगितामा खासै धेरै परिवर्तन भने हुने छैन । नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता रहे पनि समय अभावका कारण केही ठाउँमा मात्रै नयाँ खेलाडी ल्याउने तयारी गरिएको बताएका हुन् ।
प्रशिक्षक तामाङले नेपाली टोलीले विगतमा खेल्दै आएको संचरनामा परिवर्तन गर्नका लागि खासै समय नभएको बताएका छन् । गत कात्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप सकिएसँगै राजेन्द्रले कम्तीमा ११ जना खेलाडीको विकल्प खोज्नुपर्ने बताए पनि बन्द प्रशिक्षणमा रहेका ३० मध्ये अधिकांश खेलाडी सोही च्याम्पियनसिप खेलेका छन् ।
अन्तिम टोलीमा पनि प्रायः पुरानै खेलाडी दोहोरिने सम्भावना प्रबल रहेको छ । हीराकुमारी भुजेल र दिपा शाही घाइते छन् । अमिषा कार्की पनि नहुने भएको कारण ३ नयाँ खेलाडी त खोज्नै पर्छ । यस प्रतियोगितामा सबै टोली बराबरका भएका कारण नेपालले जोखिम उठाउन सक्दैन ।
उनका अनुसार फरवार्ड, मिडफिल्ड र डिफेन्समा समान एक नयाँ खेलाडी देखिने छन् । अन्य पोजिसनमा भने पुरानै खेलाडीले निरन्तरता पाउनेछन् । ‘टेक्टिकल चेन्जेज आयो भने मलाई गाह्रै बनाउँछ । त्यसैले मैले नयाँ खेलाडीलाई तुरुन्तै ल्याउनेबारे केही सोचेको छैन । त्यही भएर सिनियर खेलाडी परिवर्तन हुने छैनन्’, उनले भने ।
प्रतिक्रिया