काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारले न्यायपालिकालाई धम्क्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सडाउने षड्यन्त्र गरिरहेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार जब प्रतिशोध साँध्नेुपर्ने हुन्छ त्यतिबेला मात्रै बलियो देखिने गरेको टिप्पणी गरे ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले यसको उदाहरणको रुपमा रास्वपाका सभापति लामिछानेमाथि भएको घटना रहेको उल्लेख गरे ।
‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ, त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ,’ उनले भने, ‘सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ, हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा छन्, जसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’
उनले रविविरुद्ध सिंगो राज्य शक्ति दुरुपयोग गरिएको पनि बताए । उनले सभामुख देवराज घिमिरेलाई अदालतले धरौटीमा छाडिसकेकाले लामिछानेको सांसद पद निलम्बन गर्न आवश्यक नभएको पनि बताए ।
‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतहरुले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ?,’ उनले भने ।
प्रतिक्रिया