काठमाडौं । गत माघ १८ थते बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गाएको ‘मत ढलेँ ढलेँ’ बोलको गीतको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्काएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गाएको उक्त गीतको जवाफ फर्काएका हुन् । जवाफमा प्रचण्डले आफूले सरकार ढल्ने बताएको जिकिर गरे ।
‘प्रधानमन्त्रीजीले यही सदनमा ढलेँ ढलेँ गीत गाउनुभयो, तर सरकार ढल्दैन भने हरेक दिन यो सरकार कहिलेसम्म चल्छ र त्यसपछि शेरबहादुरजीलाई दिन्छु किन भन्नुपर्यो ?’, प्रश्न गर्दै प्रचण्डले भने, ‘मैले यो गठबन्धन प्राकृतिक छैन भनेको छु । मैले सरकार ढाल्छु भनेको त छैन नि, यो सरकार ढल्छ भनेको हुँ ।’
उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
उनले सत्ता पक्षका दलहरूबीच नै विश्वास नभएको भन्दै सोही कारण प्रधानमन्त्री ओलीले देउवालाई बारम्बार सत्ता हस्तान्तरण गर्ने भनेर भनिरहेको बताए ।
‘तपाईंहरुलाई विश्वास छ भने म यति महिनापछि शेरबहादुरजीलाई सत्ता छाड्छु, भनेको भन्दा ७ दिन अगाडि छाड्छु भनेर प्रधानमन्त्रीले भन्न पर्छ त ? साँच्चै विश्वास भएको भए ?’, अध्यक्ष प्रचण्डले भने, ‘के शेरबहादुर देउवाले सुन्नु हुन्न र ?’ शेरबहादुरजीको कान र आँखा तगडा नै भएको प्रचण्डले बताए ।
प्रतिक्रिया