रविसँग ‘साँठगाँठ गरेको आशंका’मा जिल्ला न्यायाधिवक्तामाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराधको अभियोग नलगाई सहकारी ठगीमा मात्रै अभियोजन गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । रविविरुद्ध मुद्दा दायर हुनेबित्तिकै लुइँटेलको सरुवा भइसकेको छ ।

महान्यायाधिवक्ता कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा सहन्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च वकिल सरकारी कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्यसचिवमा महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य रहेको ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको थियो । त्यसमध्ये सभापति लामिछानेसहित २० जनाविरुद्ध ठगीको मुद्दा र १२ जनाविरुद्ध संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो । चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले चितवन सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्र त्रुटिपूर्ण देखिएकाले छानबिन समिति गठन गरिएको बताए । महान्यायाधिवक्ता कार्यालयले रास्वपाका सभापति लामिछानेसँग साठगाँठ गरेर वा दबाबमा परेर यस्तो अभियोगपत्र दायर भयो भन्ने गम्भीर आशंकामा छानबिन समिति गठन गरेको जनाएको छ ।

रविलाई पठाइयो न्यायिक हिरासत

चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई हिरासत पठाउने आदेश गरेको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा सभापति लामिछानेलाई हिरासत पठाउने आदेश गरेको हो । थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाइएको हो । चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यले थुनछेक बहस नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको जानकारी दिए । बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी जिम्मा प्रहरीको जिम्मा लगाइएको उनको भनाइ छ ।

प्रतिक्रिया