रवि लामिछानेलाई चितवन अदालतले पठायो न्यायिक हिरासत

काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।

बुधबार चितवनको सहारा सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि सभापति लामिछानेलाई हिरासतमा पठाइएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश दिएको हो ।

उनलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा काठमाडौं अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएको थियो । रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो । यी दुवै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए ।

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोग दर्ता भएको थियो । अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए । अन्य सबै प्रतिवादीहरु फरार छन् । केही थुनामा भएपनि थुनछेक बहस रविबाटै सुरु भएको हो ।

चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ ।

प्रतिक्रिया