काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिएका छन् ।
आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व संकटमा पर्नेछ, देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ, आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीतिक नगरौँ ।’
केसीले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताए । जनताले सोचे अनुरुपको समृद्धि हुन नसकेको बताउँदै उनले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिए ।
‘अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो ? खेतीयोग्य जग्गामा घर बनेका छन्, करोडौँ खर्च गरेर विदेश गएका छन्, घरहरु खाली छन्, यसको समस्या कसरी समाधान हुन्छ ?’, उनले प्रश्न गरे ।
सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उनले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिए । उनले भने, ‘लोकतन्त्र तथा गणतन्त्रका लागि लड्यौँ, तर जनतालाई त्यसपछि के–के दियौँ त ? त्यही महँगी होइन ? ।’
शोक प्रस्ताव पारित, अर्को बैठक माघ २४ गते
प्रतिनिसभाको आजको बैठकले पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, पूर्वसांसदहरू प्रेमलाल सिंह (पिएल सिंह) र रामजीप्रसाद शर्माको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
पूर्वसभामुख ढुंगानाको गत मंसिर २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, संविधानसभा सदस्य सिद्धिकीको गत मंसिर ३ गते ६० वर्षको उमेरमा र पूर्वसांसद पिएल सिंहको गत पुस १ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । यस्तै, संविधानसभा सदस्यसमेत रहनुभएका शर्माको यही माघ ७ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।
सभाले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभाले तीन जना सांसदको संसदीय समितिमा जिम्मेवारी थप तथा हेरफेर गरेको छ । सांसद रञ्जिता श्रेष्ठलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा जिम्मेवारी तोकिएको छ ।
सांसद कल्पना चौधरीलाई पूर्वाधार विकास समितिबाट अर्थ समिति र सांसद दुर्लभ थापालाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट अर्थ समितिमा जिम्मेवारी तोकिएको छ । प्रतिनिसभाको अर्को बैठक यही माघ २४ गते दिनको १ बजे बस्नेछ ।
प्रतिक्रिया