पाँचथर प्याब्सनको अध्यक्षमा ओझा निर्वाचित

पाँचथर । पाँचथर प्याब्सनको अध्यक्षमा नविन ओझा निर्वाचित भएका छन् । फिदिम नगरपालिका– २ निवासी ओझा सो पदमा निर्वाचित भएका हुन् । निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) पाँचथरको अध्यक्षमा ओझा सर्वसम्मत निर्वाचित भएका हुन् ।

फिदिममा आयोजित विद्याबरदान इङलिस स्कुलको सभाकक्षमा सोमबार प्याब्सनको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको हो । सो अधिवेशनले ओझाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पाहाङ योङया, सचिव अनुज भट्टराई, सहसचिव कृष्ण बस्नेत र कोषाध्यक्षमा सुमिता लावती रहेका छन् ।

निर्वाचित सदस्यहरुमा गोपाल पोखरेल, सन्तोष सेलिङ, खगेन्द्र राई, डीबी गुरुङ र उपेन्द्र तावाहाङ रहेका छन् । यसैगरी इन्दिरा मेयोङबा, तुलसीराम खतिवडा, पुजा बान्तावा राई, राजकिशोर पोनार र उर्मीला अर्याल समेत सदस्यमा निर्वाचित भएका छन् ।

अधिवेशनले चन्द्रप्रसाद भट्टराई र गणेश भण्डारीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ । जिल्ला समिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले निजी विद्यालयहरुले शिक्षाको विकासमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै सरकारबाट सहकार्यको अपेक्षा गरे । जनताको सबैभन्दा नजिक स्थानीय सरकार रहेको उल्लेख गर्दै प्रमुख अतिथि ढुंगानाले स्थानीय तहको नेतृत्वले समन्वय गरेर निजी विद्यालयहरुले अझै शिक्षाको गुणस्तर वृद्धिका लागि सहयोग गर्न सक्ने बताए ।

कार्यक्रमलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्लास्थित राजनीतिक दलका नेतासहितका अतिथिहरुले सम्बोधन गरेका थिए ।

प्याब्सनमा जिल्लाका ४३ निजी विद्यालयहरु आवद्ध रहेको निर्वाचित अध्यक्ष ओझाले जानकारी दिए । जिल्लामा रहेका अन्य निजी विद्यालयहरुलाई समेत आवद्ध गराई संगठनको सुदृढिकरण गर्ने अध्यक्ष ओझाले बताए ।

प्रतिक्रिया