तनहुँको भीमादमा सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित ५ जना पक्राउ

तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित ५ जना पक्राउ परेका छन् ।

वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष प्रकाश श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठ रहेका छन् । विसं २०७६ मा रु २८ लाख ऋण लिएपछि सावा, ब्याज एकपटक पनि नतिरेको, पटकपटक चिठी तथा फोनमार्फत जानकारी गराउँदा बेवास्ता गरेपछि सहकारीले सहकारी नियम र प्रक्रियाअनुसार जग्गा लिलामी गरेको सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

‘घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो’, उनले भने । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गर्नुभएको उल्लेख गरे ।

सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई ५ जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिए । परिवार माथि सांघातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उनले बताए ।

पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित ५ जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए ।

प्रतिक्रिया