अमेरिकी दिवंगत राष्ट्रपति कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि संसद भवनमा

वासिङ्टन । अमेरिकाका दिवंगत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मंगलबार बृहत् सैन्य सम्मानसहित अमेरिकी संसद भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृष्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट बिदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुने गरेको छ । उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

जन्मथलो जर्जियाबाट सुरु भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसदमा (युएस क्यापिटल) मंगलबार पुर्याइएको हो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीबारसम्म राखिनेछ । प्रसारणकर्ता पीबीएसले लाइभ प्रशारणमा सर्वसाधारणले भवनहरूको छत, झ्याल र कौसीबाट दिवंगत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, ‘राष्ट्रपति कार्टरको पार्थिव शरीर संसद्मा ल्याइपु¥याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।’ अमेरिकी वायु सेनाको जेटमा वासिङ्टन ल्याई पुर्याइएको अमेरिकी झण्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पुर्याइएको थियो ।

पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा संघीय कार्यालय र विद्यालयहरू बन्द भएका छन् । हिउले सेताम्मै भएको सडक सफा गर्दै सयौँ अमेरिकी सेनाका सदस्यहरूले मृत शरीरलाई संसद् भवनमा पुर्याएका थिए ।

शवयात्रामा कार्टरको परिवार, कंग्रेसका सदस्यहरू र प्रधान न्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पुर्याइएका १३औँ अमेरिकी पूर्वराष्ट्रपति हुन् ।

वासिङ्टनको पूर्वराष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुसको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेसनल क्याथेड्रलमा बिहीबार कार्टरको अन्त्येष्टि गरिनेछ ।

अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेता–साथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।

बाइडेनले बिहीबार (जनवरी ९) अर्थात् कार्टरको अन्त्येष्टिको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् भने त्यस दिन संघीय सरकारका कार्यालयहरू बन्द रहनेछन् । उनले शोक मनाउनकै लागि राष्ट्रिय झन्डालाई ३० दिनसम्म आधा झुकाउन निर्देशन दिएका छन् ।

अमेकिी राष्ट्रपति भई १०० वर्षसम्म बाँच्ने कार्टर पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनलाई सन् २०२३ को फेब्रुअरी देखि जर्जियाको प्लेन्सस्थित आफ्नो गृहनगरमा ‘होस्पिस केयर’ राखिएको थियो, जहाँ उनको मृत्यु भएको थियो र उनलाई उनकी स्वर्गीय पत्नी, पूर्व प्रथम महिला रोजालिन कार्टरको समाधिसँगै समाधिस्थ गरिनेछ ।

प्रतिक्रिया