काठमाडौँ । अमेरिकामा आइतबार भएको भीषण हिमपात र त्यसपछिको आँधीका कारण विभिन्न ७ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । ती क्षेत्रमा हिमपात जारी रहेकाले विगत १० वर्षयताकै खराब हिमआँधी र चिसो हुन सक्ने आशंका गरिएको छ ।
हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरी लगायत धेरै राज्यले आपत्काल घोषणा गरिसकेका छन् । अमेरिकी मौसम सेवाले पश्चिमी कन्सासबाट मेरिल्यान्ड, डेलावेयर र भर्जिनियाका तटीय राज्यहरूमा हिमआँधीको चेतावनी जारी गरेको छ, जसले असामान्य रूपमा २४ सय किलोमिटर क्षेत्रलाई तत्काल खतरामा राखेको छ ।
हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौँ उडानहरू रद्द गर्नुपरेको छ र विद्यालयहरू बन्द गरिएका छन् । कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १२ इन्चसम्म हिमपात भएको बताइएको छ । कान्सासका अधिकारी ब्रायन प्लाटले भनेका छन्, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको थिइनँ ।’
साधरणतया मौसम राम्रो हुने फ्लोरिडामा पनि अत्यधिक चिसो हुने आकलन गरिएको छ । मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था ‘पोलर भोर्टेक्स’का कारण उत्पन्न भएको बताएका छन् । वासिङ्टन डिसीमा समेत ५ देखि ९ इन्चसम्म हिमपात हुने अनुमान छ । मेरिल्यान्ड राज्यको बाल्टिमोरनजिकै रहेको एनपोलिस क्षेत्रमा ८ देखि १२ इन्चसम्म हिमपात हुने भविष्यवाणी एनडब्ल्यूएसले गरेको छ । त्यसबाहेक कान्सास, मिजोरी र नेब्रास्कामा पनि हिमपात हुने चेतावनी जारी भएको छ । उत्तरी मिजोरीमा झन्डै १४ इन्च असिना र हिउँ परेको छ भने कान्सासमा १० इन्च हिउँ जमिसकेको जनाइएको छ ।
एनडब्लुएसले आफ्नो पछिल्लो रिपोर्टमा भनेको छ, ‘एक विनाशकारी हिमआँधीका कारण सोमबारसम्म केन्द्रीय मैदानबाट मध्य–एटलान्टिकसम्म व्यापक भारी हिमपात निम्त्याउन सक्छ ।’ एजेन्सीले उत्तरपूर्वी कन्सासदेखि उत्तर–मध्य मिसौरीसम्मका क्षेत्रमा १ दशकयताकै सबैभन्दा भारी हिमपातको चेतावनी दिएको छ । ‘यो २०११ पछि अमेरिकाका लागि सबैभन्दा चिसो जनवरी हुन सक्छ,’ एक्युवेदरका पूर्वानुमानकर्ता डेन डेपोडभिनले भने, ‘आगामी १ साता तापक्रम ऐतिहासिक औसतभन्दा पनि कम रहन सक्छ ।’
केही स्थानमा तापमान शून्य डिग्री फरेनहाइट अर्थात् माइनस १८ डिग्री सेल्सियसभन्दा तल झर्ने चेतावनी दिइएको छ । अमेरिकाको खाडी क्षेत्रमा सामान्यभन्दा १० डिग्री सेल्सियससम्म तापक्रम ओर्लिन सक्ने बताइएको छ । एनडब्लुएसले मिसिसिपी उपत्यकाको तल्लो भागमा ठुलो आँधी आउने अनुमान गरेको छ । यद्यपि, मंगलबारदेखि भने मौसममा क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया