आठबिसकोट । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–९ को ठाँटीखोला र जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैस्थित ठुलीभेरी नदीमाथि पक्की पुल निर्माणको काम तीव्र रूपमा भइरहेको छ । रुकुमपश्चिम र जाजरकोटलाई जोड्ने उक्त पुलको निर्माण कार्य करिब ६० प्रतिशत भइसकेको जनाइएको छ । कम्पनीले पुल निर्माणको कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतको १३ करोड ७० लाख रुपैयाँको लागतमा सपना निर्माण सेवा प्रालि हेटौँडाले ठेक्का लिएको हो । ठाँटीखोला पुल निर्माण कम्पनीका इन्जिनियर सिर्जन बर्तौलाका अनुसार झण्डै ६० प्रतिशत निर्माण सकिएको बताए । उनका अनुसार उक्त पुल ११ मिटर चौडाइ, ६२ दशमलव ५ मिटर प्रिसेस प्रविधि, २५ मिटर नर्मल स्लाब र ३ वटा पिल्लर रहेका छन् ।
निर्माणको समयावधि ३ वर्ष तोकिएको यो पुल आर्थिक वर्ष २०७९/०८० मा ठेक्का खोलिएको थियो । सबै पिल्लर निर्माण भइसकेको र अब सेटिङको काम भइरहेको कम्पनीले बताएको छ । तोकिएकै समयमा पुल निर्माण गर्ने गरी काम भएकाले सकभर असारभित्र नै पुल निर्माण सम्पन्न गरिने कम्पनीले जनाएको छ ।
निर्माणधिन उक्त पुलको निर्माण कार्य सकिएपछि रुकुमपश्चिमको आठविसकोट नगरपालिका र जाजरकोटको नलगाड–८ सडक सञ्जालमा जोडिनेछन् । भेरिकरिडोरसँग जोडिएकाले यो पुल निर्माणपछि रुकुमपश्चिम हुँदै डोल्पा जोड्ने सडकको दुरी छोटिने र स्थानीयलाई आवतजावत गर्न सहज हुनुका साथै यहाँका स्थानीयहरू उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सहज हुने छ ।
पुल नहुँदा राडीबजारबाट ब्यापारीले भरिया लगाएर झोलुंगे पुलबाट मालसामान ढुवानी गर्न बाध्य थिए । पक्की पुल निर्माणपछि झोलुंगे पुलबाट मालसामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् । यसअघि पुल नहुँदा डोल्पाबाट रुकुमपश्चिम आउने सवारीसाधन जाजरकोटको दल्ली हुँदै चिसापानी घुमेर आउनुपर्ने बाध्यता थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया