कालिकोट । पशु प्राविधिक र पशु व्यवसायीहरूको नियामक निकाय नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को सदस्यमा कर्णाली प्रदेशबाट प्रकाश पाण्डेको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएका पाण्डेको कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाका हुन् ।
उनी नेपाल पारा भेटेरिनरि एण्ड लाईभष्टक एशोसियनका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकसमेत हुन् । यही माघ १८ गते हुने परिषद्को उपाध्यक्ष तथा सदस्यहरुको निर्वाचनको लागि पाण्डेले कर्णाली प्रदेश सदस्यमा उम्मेदवारी दिएका हुन् ।
नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्तिदेखि विषय विज्ञसम्मका जनशक्तिलाई दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघीय संसदबाट पारित ऐन २०७९ साल असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन जारी भएको हो ।
यही ऐन अन्तर्गत रहेर यो परिषद्को गठन भएको र नेपाल पशु चिकित्सा परिषद् दर्ता हुन योग्य जनशक्ति बाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिहरु पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषदमा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको व्यवहारिक कार्यन्वयनका गर्नका लागि आफूले उम्मेदवारी दिएको पाण्डेले बताएका छन् ।
‘ऐनको परिधि भित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ,’ उनले भने, ‘त्यसको व्यबहारिक कार्यान्वयनका लागि मैले उम्मेदवारी दर्ता गराएको हो ।’
परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था गरिएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन १३ गते अपराह्न ४ बजे गर्ने निर्वाचन समितिले जनाएको छ । यसमाथि दाबी विरोध गर्ने समय १४ गते बिहान ११ बजेदेखि ४ बजेसम्म दिइएको छ ।
कालिकाेट
प्रतिक्रिया