बाल विवाहविरुद्ध कालिकोटले गरेका काम सार्वजनिक

कालिकोट । बाल विवाहविरुद्ध साझा अभियान कालिकोटले सन् २०२४ मा गरेका क्रियाकलाप तथा उपलब्धिहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बाल विवाहविरुद्ध साझा अभियान कालिकोटले अभियानको रुपमा कर्णाली प्रदेशका ३० वटा स्थानीय तहमा काम गर्दै आएको छ ।

यस्तै कालिकोट जिल्लाको महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा बालविवाह न्यूनिकरणसहित स्थानीय तहमा बालविवाह न्यूनिकरणसम्बन्धी रणनैतिक योजना गर्ने मुख्य उद्येश्य रहेको बाल विवाहविरुद्ध साझा अभियान सञ्जाल कालिकोटका संयोजक खडानन्द अधिकारीले बताए ।

अधिकारीले जिल्लाको महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बालविवाह न्यूनिकरणका लागि रणनैतिक योजना तयार गरिसकेको बताए । बाल विवाहविरुद्ध साझा अभियान कालिकोटले बालविवाह पीडितलाई उद्धार तथा विभिन्न सहयोगका कार्यक्रम गरेको छ ।

बालविवाह न्यूनिकरण गर्नका लागि जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा बालविवाह मात्रै नभएर परम्परात हानिकारक अभ्यास न्यूनिकरण गर्न यस सञ्जालले महत्वपूर्ण भूमिका खेलेको सञ्जालका संयोजक अधिकारीले बताए । विभिन्न पालिकाहरुमा साझेदार संस्थाहरुको सहयोग समन्वय गरी यस सञ्जालले काम गर्दै आएको छ ।

जिल्लामा रहेका मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, किर्डाक नेपाल, भिडिसेफ, सादा नेपालसहित अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले बालविवाह न्यूनिकरण, मानव अधिकारका क्षेत्र र विभिन्न विकास निर्माणका काम गर्दै आएका छन् ।

विभिन्न संघ–संस्थाहरुले काम गर्दै आउँदा विभिन्न कुरिती कुसंस्कारसहित हिंसाहरु न्यूनिकरण भइरहेका छन् । पहिलेको तुलनामा हाल बालविवाह न्यूनिकरण भइरहेको विभिन्न मानव अधिकारकर्मीहरुले बताएका छन् । बालविवाह न्यूनिकरणको नारा भन्दा पनि बालविवाह अन्त्यको नारा लिएर काम गर्नुपर्ने मानव अधिकारकर्मी कालिबहादुर मल्लले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया