उपकुलपति कार्यालय जानै छाडेपछि प्रधानमन्त्रीले सिंहदरबारमै राखे सिनेट बैठक

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओली विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा त्रिविसभाको अनौपचारिक बैठकमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक राखेका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेपछि ओलीले सिंहदरबारमै सिनेट बैठक राखेका हुन् । यद्यपि, यसलाई अनौपचारिक भनिएको छ र कुनै निर्णय गरिएको छैन ।

३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि नै उपकुलपति बराल कार्यालय नगएको बुझिएको छ । प्रधानमन्त्री कार्यालयमा सिनेट बैठक बसेको यो पहिलो घटना हो । करिब ३ घन्टा भएको बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका थिए ।
प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकारवाला पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए । गत मंसिर २७ गते कीर्तिपुरमा भएको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीच दुरी बढेको महसुस भएपछि ओलीले विस्तृत छलफल गर्न बैठक बोलाएको बताइएको छ । सिनेट सदस्यहरूले कुलपति स्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरू खुलेर राख्न पाइएको बताएका छन् ।

सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन निर्देशन दिए । उनले त्रिविको ५०औँ दीक्षान्त समारोहपछि पुनः बैठक राख्न निर्देशन दिँदै उक्त बैठकमा विद्यार्थीका एजेन्डामा केन्द्रित भएर पूर्ण तयारी गरेर आउन भनेका छन् । गत मंसिर २७ गतेको सिनेट बैठकका छलफललाई बंग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले सिनेटरहरू सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्ण रूपमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगत रूपमा लिनु–दिनु केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवद्र्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन आग्रह सबैलाई गरे । ओलीले त्रिविको वेबसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरूलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शिता कायम गर्न निर्देशन दिए ।

‘विश्वविद्यालयको शैक्षिक क्यालेन्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भए पनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शिता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । कुन डिनको कति मेरिटोक्रेसी छ, मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईंहरूले लिनुपर्छ ।’

उनले त्रिविको चल–अचल सम्पति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न आग्रह गरे । बैठकमा शिक्षामन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया